निजी लगानीमा ४५ लाखको भ्युटावर

0
Shares

नरेन्द्र केसी, घोराही, दाङ
अहिले नेपाली संगीत बजारमा निकै चलेको गीत हो– बाल गायक अशोक दर्जीको धनविनाको मन ठूलो कि मनविनाको धन ? मन र धन दुबै मिल्यो भने समाजमा कुनै प्रगति नहुने कुरै भएन । अहिले दाङको घोराहीमा मन र धन दुबैबाट सम्पन्न एक परिवारले जिल्लामै नयाँ काम गरेका छन्– परिवारको निजी लगानीमा भ्यूटावर निर्माण ।

घोराही उपमहानगरपालिका १४ निवासी पूर्वभारतीय सेनाका अनरेरी क्याप्टेन ८७ बर्षीय मनबहादुर पुन र श्रीमती ७८ बर्षीया दिलमायाँ पुनको नामबाट उहाँका छोराछोरीले ४५ लाख लगानीम घोराही १८ ढोडेनीमा ‘मनदिल पुन भ्यूटावर’ निर्माण गरेका छन् । दाङमा पहिलोपटक निर्माण गरिएको भ्यूटावरबाट दाङ उपत्यकाको अधिकांश भूभाग देख्न सकिने भएको छ ।

नमछु बौद्ध गुम्बाको परिसरमा १७ मिटर उचाइको टावर निर्माण गरिएको छ, जसमा एकपटकमा १५ देखि २० जना चढेर दाङ हेर्न पाउनेछन् ।
अहिले भ्यूटावर पूर्ण सञ्चालनमा नआउँदै टावर चढेर दाङ हेर्नेहरुको भीड लाग्न थालिसकेको छ, जहाँबाट पूर्व चौपट्टादेखि पश्चिम तुलसीपुर क्षेत्रसम्म आँखा डुलाएर हेर्न सकिन्छ ।

दूरवीनबाट दाङ दर्शनको ब्यवस्था पनि मिलाइने माइला छोरा नरेन्द्र पुनले जानकारी दिनुभयो । जति खर्च लागे पनि यो भ्यूटावर दानको रुपमा निर्माण गरिएकाले यसबाट आउने सबै सबै आम्दानी सामाजिक काममा लगाउने कान्छा छोरा डा. बसन्त पुनले जानकारी दिनुभयो ।

टावर सुरक्षा, संरक्षण र सञ्चालनका लागि दुइ जना कर्मचारी भर्ना गरिएको छ । आम नागरिकबाट ५० र विद्यार्थीबाट प्रतिव्यक्ति ३० रुपैयाँका दरले लिइने शुल्क जम्मा गरेर खर्च कटाएर बचेको रकम शिक्षा, स्वास्थ्य र खेलकूदमा लगाउने परिवारको तयारी छ । ‘हामीले बचेको रकम सामुदायिक विद्यालयका छात्रछात्राका लागि लगानी गर्ने सोंच बनाएका छौं’– जेठा छोरा गुमानबहादुर पुनले भन्नुभयो– ‘त्यसबाहेक केही रकम स्वास्थ्य र खेलकूदमा पनि लगाउने छौं ।’

बर्षमा पाँच लाख मात्रै बचत भयो भने पनि त्यसबाट धेरै काम गर्न सकिने परिवारको विश्वास छ । यो रकम परिचालनका लागि समितिसमेत गठन भइसककेो छ । परिवारकै अग्रज व्यक्तिबाट अध्यक्षता गर्ने गरी गुम्बा सेवा समिति र मगर महिला सेवा समितिका प्रतिनिधि यसमा सदस्य रहने छन् ।

टावरको प्रभावकारी सञ्चालन र कोषको पारदर्शिताका लागि त्रिपक्षीय प्रतिनिधित्वसहितको समिति बनाइएको कान्छा छोरा डा. वसन्तको भनाइ छ । क्याप्टेन पुनका जेठा छोरा रिटायर्ड, माइला छोरा ब्यवसायी, कान्छा छोरा चिकित्सक र छोरी कलावती पुन बुढा शिक्षक रहेकाले पनि अब सन्तानमा लगानी गर्नुपर्ने कुनै चिन्ता छैन ।

बरु, छोराछोरीले नै बुवाआमाको सम्झनामा टावर निर्माण गरेर अभिभावको सच्चा सम्मान गरेको आफूहरुलाई आभास भएको बौद्ध गुम्बा समितिका अध्यक्ष सतमान रोकाले जानकारी दिनुभयो । गुम्बाको विकास र दाङको पर्यटन प्रबर्धनमा ठूलो सहयोग हुने उहाँको विश्वास छ ।