‘उच्च मनोबलले क्यान्सरलाई जित्न सकिन्छ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्यान्सर सर्भाइभरशिप इभेन्ट सम्पन्न भएको छ । नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा भएको सो इभेन्टमा क्यान्सर रोगबाट निको भएका ब्यक्तिहरुले आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्यान्सर निको भएका र क्यान्सरको उपचार गराइरहेका ब्यक्तिहरुका साथमा क्यान्सर रोग विशेषज्ञ डाक्टर, क्यान्सर प्रभावितका परिवार, समाजसेवी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

क्यान्सर रोगलाई जितेका व्यक्तिहरुको अनुभव तथा सुझाव तथा विशेषज्ञ डाक्टरहरुको उचित परामर्शबाट क्यान्सरको उपचार गराईरहेका ब्यक्तिहरुको मनोबल बढाउने, उपचार प्रकियामा सहजता तथा प्रभावितको दैनिकीमा सुधार ल्याउने उद्देश्यले यस इभेन्टको आयोजना गरेको नेपाल क्यान्सर सपोर्ट गु्रपका कोअर्डिनेटर स्वरुपा श्रेष्ठले बताउनुभयो । उहाँले इभेन्ट मासिकरुपमा आयोजना गर्ने पनि जानकारी गराउनु भयो ।

क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुसँग क्यान्सरबाट निको भएका तथा उपचार गराईरहेका व्यक्तिहरुले क्यान्सर सम्बन्धि बिभिन्न विषयमा अन्तरकृया गर्नु भएको थियो । अन्तरकृयाबाट क्यान्सर सम्बन्धि धेरै खालका भ्रमहरुको अन्त्य भएको प्रभावितहरुले बताएका थिए । क्यान्सर धेरै प्रकारका हुने तर नेपालमा क्यान्सर भन्ने बित्तिकै आत्तिने र हतोत्साहित हुने गरेकोले यसबारे व्यापक जनचेतना फैलाउन आवश्यक रहेको नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले बताउनुभयो ।

मन्त्री यादवले नेपालमा कुल जनसंख्याको अनुपातमा अस्पतालको संख्या र बेड धेरै कम भएको बताउँदै क्यान्सर प्रभावितहरुलाई राज्यले दिने अनुदान समेत अत्यन्त कम रहेको धारणा राख्दै क्यान्सर लगायतका गम्भिर रोगको उपचारका लागि राज्यले दिने अनुदान रकम बढाउन प्रयत्न गर्ने बताउनुभयो ।