भद्रपुर नगरले जनताको चाहना अनुरुप काम गर्न सकेन


भद्रपुर ।
भद्रपुर नगरपालिकामा जनताको सेवा गर्न गएका जनप्रतिनिधिको एक वर्षमा जनताको चाहना अनुसार काम गर्न नसकिएको बताएका छन् । नगरपालिकाले आर्थिक बर्ष २०७४।७५ मा गरेका कार्यहरु सहितको वाषर््िाक प्रगति समिक्षा गोष्ठीमा सहभागी जनप्रतिनिधिहरूले जनपक्षीय काम गर्न नसकेकोले आश्वासन र उद्घाटनमा वर्ष व्यतित भएको स्वीकार गरेका छन् ।

नगर नेतृत्वले नगर भित्र वजेट विनियोजन तथा विकास निर्माण गतिविधिमा विभेदकारी नीति राखेको समेत केही वडाध्यक्षले आरोप लगाए । वडामा कर्मचारीहरुको अभाव , विकास निर्माण कार्य पुरा गर्न नसकिएको, वडा कार्यालय सिफारीस दिने अड्डामात्रको रुपमा परिचित रहेको ,प्रविधिको अभाव नदी कटान,फोहोर मैला व्यवस्थापन,सागुरो सडक लगायतका समस्या देखाएका थिए । साथै योजना छनौटमा वडा कार्यालय विभेदको शिकार हुनु पर्दा जनताका चाहना अनुसार काम अगाडि बढाउन नसकिएको विभेदमा परेका वडाध्यक्षहरूले मुख खोलेका थिए ।
४ नम्बर वडाध्यक्ष हङ्शधर राजवंशीले आफ्नो वडामा बजेट पठाउँदा नगर प्रशासनले विभेद गरेकोमा आक्रोस पोखे । नगरमा सन्तुलित विकास गर्ने नीति नगर प्रशासनकै कारण असफल हुने प्रष्ट भएको वडाध्यक्ष राजवंशीको दुखेसो थियो । विनिययोजन गरेको बजेट अवैज्ञानिक भएकोले असन्तुष्ट भएको विषयलाइ लिएर नगरपालिकामा दुइ पटक ध्यानाकर्षण पत्र पठाएपनि कार्यपालिकाको वैठकमा विषय समेत प्रवेश नपाएकोमा गुनासो गरेका थिए ।
समृद्ध भद्रपुरको नक्सा पहिलो आर्थिक वर्षे कार्यकालमा कोर्न नसकेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । पहिलो वर्ष सोचे अनुसार काम नभएको स्वीकार गर्दै सहभागी जनप्रतिनिधिलाई आगामी वर्ष देखिने गरी जनपक्षीय काम गर्ने आश्वासन दिए । उनले विभेदकारी नीति नरहेको भन्दै आफ्ना कमजोरीको बचाउ गरेको सहभागी वडाध्यक्षहरूको भनाइ छ ।
नगरमा रहेका विकास हेर्ने विषयगत कार्यालयहरूले वर्षभरी कागजी उपलब्धी मात्र बनाएको अधिकाम्स वडाका जनप्रतिनिधिको भनाइ छ ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न गोष्ठीमा दशजना वडा अध्यक्षहरुले आ आफ्नो वार्डको वारेमा प्रगति सहितको समिक्षा प्रस्तुत गरेका थिए ।