काठमाडौं, (नेस)
नेपालले चीनलाई दिन अन्तिम तयारी गरेको थप अर्को जोडी गैंडा विहीवार चीन पठाइएन । गैंडा लिन आउने चिनियाँ विशेष विमान मौसमी प्रतिकूलता कारण नआएपछि विहीवारको कार्यक्रम रद्द भएको हो ।
चीन तर्फको मौसमी प्रतिकूलता कारण विमान नआएको र आज शुक्रवार साँझ नेपालका लागि चिनियाँ राजदूत यू होङ मार्फत चीनलाई हस्तान्तरण गरिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । नेपालले उपहार स्वरुप प्रदान गर्ने सोल्टी र मितिनी नामका गैंडा मंगलबार चितवनबाट ललितपुर ल्याइएको छ ।
वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले राजदूत यूलाई साईटिस निर्यातपत्र, प्रजाती उत्पती र गैंडाको स्वास्थ्य परीक्षण लगायतका प्रमाणपत्र हस्तान्तरण गरेपछि विशेष विमान मार्फत सोल्टी र मितिनी चिन पुग्ने छन् । ती गैंडा चीनले आफ्नु मुलुकको ‘सांघाई जुलोजिकल पार्क’मा राख्ने तयारी गरेको छ ।
गैंडा रेखदेख र अन्य आनीबानी चिनियाँ अधिकारीलाई सिकाउन राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक र केही पशु प्राविधिक चीन पुगिसकेका छन् ।
नेपालले यस अघि गत असार २८ गते भद्र र रुपसी नामका एक जोडी गैंडा चीनलाई हस्तान्तरण गरिसकेको छ । दुवै जोडी गैंडा एकदेखि दुई वर्षसम्मका छन् ।











प्रतिक्रिया