मिटर नपाएपछि सर्वसाधरणले भने- कुलमानको नाम मात्रै, सेवा छैन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
भुकम्पको पीडामा परेका सर्वसाधारणहरु यतिखेर घर निर्माण गरे पनि मिटर नपाएर हैरानीमा परेका छन् । जिल्लामा अहिले निवेदन मात्रै दर्ता गराएका झण्डै पाँच हजार ब्यक्तिहरुले विद्युत्त प्राधिकरणको मिटर पाउन सकेका छैनन ।

लोड सेडिङ्गको अन्त्य गरी वाहवाहि कमाएका कुलमान घिसिङ्गलाई सम्झँदै बनेपा, पनौती र पाँचखालमा रहेको नेपाल विद्युत्त प्राधिकरणका शाखाहरुमा सर्वसाधारणहरु दैनिक धाउने गरेका छन् । तर कुलमानको नाम मात्रै छ, सेवा छैन । ‘२०७४ पुष महिनामा नयाँ मिटर जडानका लागि निवेदन दिएको थिएँ’–नमोबुद्ध नगरपालिकाका धुर्वबहादुर श्रेष्ठले भने–‘अझै आईपुगेको छैन ।’ ‘नयाँ मिटर जडान शाखामा पुगी गुनासो सुनाउँदा छैन भन्ने जवाफ दिएपछि धुर्वबहादुरले सधै छैन मात्रै भन्नुहुन्छ बरु टेप रेकर्ड राखेर बजाई दिई रहनुस् म सोध्नै आउँदिन’–धुर्वले भने । कर्मचारीहरु समेत मिटरकै कारण वाक्क दिक्क भईसकेका छन् ।

बनेपा शाखामा मात्रै नयाँ मिटरको आवेदन १ हजार ५ सयको परिसकेको छ । मिटर प्राप्त नभएपछि कर्मचारीहरु प्रति सेवाग्रहिले आक्रोश पोख्न थालेका छन् । मन्त्री बर्षमान पुन, प्राधिकरणका कुलमान घिसिङ्गले सेवाग्रहिको गुनासो र समस्यालाई चासो ब्यक्त नगरेको भन्दै आक्रोश ब्यक्त गरेर फर्कने गरेका छन् ।

एउटा मिटरका लागि सेवाग्रहि ३० पटकसम्म आउने गरेको कर्मचारीहरुले बताएका छन् । बनेपा शाखामा साउन महिनामा नयाँ मिटरका लागि दिएको निवेदनको कार्तिक महिनामा मिटर लिन आउनु भन्दै पठाउने गरिएको छ । पुष महिना देखि असार महिनासम्म प्राप्त निवेदनका ग्राहकहरुलाई अहिले वितरण शुरु गरिएको छ । एक हजारवटा माग गरेर पठाउँदा १ सय वटा प्राप्त भएको स्टोर शाखाका प्रमुख हुईन्द्र राना मगरले बताए ।

बनेपा नगरपालिका वडा नम्वर १२ महेन्द्रज्योति बास्डोलकी रमा राउतले तीन महिना अघि लगेको मिटर जडान हुन सकेको छैन । १५ पटक कार्यालयमा आउँदा समेत मिटर जडान गर्न कर्मचारी नभएको भन्दै नपठाएको राउतले बताईन् । मिटर नहुँदा छिमेकबाट ल्याएको विजुलीबाट भोग्नु परेको समस्याको उनले फेहरिस्त सुनाईन् । एकातिर मिटर जडान गर्न नजाने अर्काे तिर विद्युत्त चोरीको मुद्दा दर्ता गर्ने प्राधिकरणको दोहोर रबैया प्रति सेवाग्रहि आक्रोशित छन् ।

प्राधिकरणको बनेपा शाखामा मात्रै असार मसान्तसम्म ५ सय ८७ वटा निवेदन दर्ता भएका निवेदनको स्टमेट गर्न बाँकी छ । १ सय ६८ वटा निवेदनको स्टमेट सकिएको छ । साउन महिनाको २८ गते सम्म १ सय ८० वटाको निवेदन दर्ता भईसकेको छ । असार मसान्तसम्म पैसा तिर्ने २ सय भन्दा धेरै ग्राहकहरुलाई मिटर उपलब्ध गराउन सकिएको छैन ।

साउन महिनामा २ सय २० वटा मिटर आउँदा पनि पुराना निवेदनका ग्राहकहरुलाई मिटर उपलब्ध गराउन नसकिएको रानाले बताए । इन्जिनियर नरेश मानन्धरका अनुसार माग भन्दा आपुर्ति कम भएकाले सहज ब्यवस्थापन गर्न नसकिएको बताए । भुकम्प पीडितहरुका लागि जिल्लामा निशुल्क मिटर उपलब्ध गराउने गरिएको छ । तर पनि उनिहरुको माग अनुसार मिटर उपलब्ध हुन सकेको छैन । मिटरको समस्या एकातिर छ भने प्राप्त भएका मिटरहरु जडान नगर्ने अर्काे समस्या छ ।