गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण

0
Shares

नेपाल समाचारपत्र, रसुवा
जनैपूर्णिमाको अवसरका लाग्ने गोसाइँकुण्ड मेलाको लागि दररेट निर्धारण गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति, लाङटाङ राष्ट्रिय निकुञ्ज र व्यवसायीबीच भएको छलफलबाट मेलाको लागि नयाँ दररेट कायम गरिएको छ ।

रसुवाको मिनि गोसाइँकुण्ड, देउराली, चन्दनबारी÷चोलाङपाटी, लौरीबिना र गोसाइँकुण्डमा सञ्चालित होटल तथा मेलाको बेलामा राखिने थर्पुमा बस्ने तीर्थयात्री ठगीमा पर्नबाट जोगाउन र मूल्यमा एकरुपता ल्याउनका लागि प्रत्येक वर्ष दररेट निर्धारण गर्ने गरिएको छ ।

दररेट निर्धारण गर्दा दूरीका हिसाबले टाढा रहेका स्थानमा बढी र नजिक रहेका स्थानका लागि कम मूल्य कायम गर्ने गरिएको समितिका अध्यक्ष संजीव डिएमले बताउनुभएको छ उहाँका अनुसार कालो चिया, दुध चिया, दाल भात तरकारी, तातोपानी र थर्पु तथा होटलमा बस्नका लागि नयाँ मूल्य निर्धारण गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष तातोपानी र कालो चियाको मूल्य घटाइएको छ ।

दुध चियामा पाँच रुपयाँ मूल्यवृद्धि गरिएको छ । मिनि गोसाइँकुण्डमा कालो चिया १५, दुधचिया २०, दाल भात तरकारी २ सय २०, थर्पुमा सुत्दा प्रतिव्यक्ति २ सय २५ र होटलमा सुत्दा प्रतिव्यक्ति ३ सय ५० तिर्नु पर्ने बताइएको छ । देउरालीमा कालो चिया २०, दुध चिया २५, दाल भात तरकारी २ सय ७५, थर्पुमा सुत्दा प्रतिव्यक्ति ३ सय २५ र होटलमा सुत्दा प्रतिव्यक्ति ४ सय ७५, चन्दनबारीमा कालो चिया २५, दुध चिया ४०, दाल भात तरकारी ३ सय ५०, थर्पुमा सुत्दा प्रतिव्यक्ति ४ सय र होटलमा सुत्दा प्रतिव्यक्ति ५ सय तिर्नुपर्ने समितिले जनाएको छ ।

यस्त्ौ, लौरीबिना र गोसाइँकुण्डमा कालो चिया ३०, दुधचिया ५०, दाल भात तरकारी ४ सय ५०, थर्पुमा सुत्दा प्रतिव्यक्ति ४ सय ५० होटलमा सुत्दा प्रतिव्यक्ति ६ सय ५० मूल्य कायम गरिएको समितिका अध्यक्ष डिएमले बताउनुभएको छ । तीर्थयात्रीले तातोपानी पिउनका लागि चन्दनबारी र लौरीबिनामा १० तथा गोसाइँकुण्डमा १५ रुपयाँ तिर्नुपर्ने बताइएको छ ।

थर्पु सञ्चालन गर्ने व्यावसायीले घट्टेखोलामा ८ सय ५०, देउराली÷ढिम्सामा ९ सय ५०, चन्दनबारी÷चोलाङपाटीमा १ हजार ५०, बुद्धमन्दिरमा १ हजार २ सय ५०, गोसाइँकुण्डमा १ हजार तीन सय ५० रुपैयाँ तिर्नुपर्ने समितिले जनाएको छ । हिँडन् नसक्ने तीर्थयात्रीहरू घट्टेखोलादेखि गोसाइँकुण्डसम्म घोडामा जाने गर्दछन् । तीर्थयात्रीले घोडा चढेबापत घट्टेखोला–चन्दनबारी ३ हजार २ सय ५०, घट्टेखोला–बुद्धमन्दिर ५ हजार ५ सय, घट्टेखोला–गोसाइँकुण्ड ६ हजार ५ सय रुपैया तिनुपर्ने भएको ।

देउराली–बुद्ध मन्दिर ५ हजार, देउराली–गोसाइँकुण्ड ६ हजार, चन्दनबारी–बुद्ध मन्दिर ४ हजार ५ सय, चन्दनबारी–गोसाइँकुण्ड ५ हजार, चोलाङपाटी–बुद्ध मन्दिर ३ हजार ५ सय, चोलाङपाटी–गोसाइँकुण्ड ५ हजार र देउराली–चोलाङपाटी २ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको छ । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा यो वर्ष सञ्चालन हुने मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको समितिले जनाएको छ ।