हेटौँडा–कुलेखानी यातायात सञ्चालन


हेटौँडा ।
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडक खण्डको इन्द्र सरोवर गाउँपालिका वडा नं २ स्थित फाखेलको कलङ्की चोकमा गतराति परेको वर्षात्ले आएको पहिरो हटाइ साँझ ५ः४५ बजेदेखि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

आजै बिहानदेखि हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँतर्फ जाने कार, सुमो जिप, मिनिबस र बाइक फाखेलको स्थानीय कलङ्की चोकमा पुगेपछि सडक अवरुद्ध भएको थियो । भैँसेस्थित त्रिभुवन राजपथबाट हेटौँडाबाट काठमाडौँतर्फ यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज अपराह्नदेखि काठमाडौँ–हेटौँडा र हेटौँडा–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने हल्का सवारी साधन त्यसतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार सिंहले जानकारी दिनुभएको छ ।
रासस