एक वडाले अर्को वडाको क्षेत्राधिकार मिचेकोमा ध्यानाकर्षण


रामधन राई, खोटाङ ।
खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक वडाले अर्को वडाको क्षेत्राधिकार मिचेको भन्दै आपत्ति जनाईएको छ । नगरपालिकाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी र कालिका भगवती मन्दिर जाने बाटो वडा नम्बर–५ मा परे पनि उक्त बाटोमा सिँढी निर्माण कार्य भने एक नम्बर वडाले गरिरहेकोमा आपत्ति जनाईएको हो ।
मझुवागढी तथा कालिका भगवती मन्दिर तथा सो स्थान जाने बाटो समेत आफ्नै भूगोलमा परे पनि कुनै जानकारी तथा समन्वय विना एक नम्बर वडाले सिँढी निर्माण कार्य अगाडी बढाएकोप्रति ध्यानाकर्षण भएको लफ्याङबासीले जनाएका छन् । बिहिबार नगरपालिकालाई सम्बोधन गरिएको जानकारीपत्रमा स्थानीय सरकारको मान–मर्यादा र वडाको काम, कर्तब्य तथा अधिकार बिपरित गरिएको कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
वडाध्यक्ष निर्मल राईले हस्ताक्षर गर्नुभएको जानकारीपत्रमा सो निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने उल्लेख छ । वडाबासीको बैठकले छलफलपछि मात्र सिंढी निर्माण कार्य अगाडी बढाउन अनुरोध गर्ने निर्णय सहित नगरपालिकाको ध्यानाकर्षण गरिएको जनाईएको छ ।
नगरपालिकाको मेयर दिपनारायण रिजालले दुवै वडाका वडाध्यक्षलाई तत्कालै बोलाई छलफल गर्ने जनाउनुभएको छ । भूगोलको बारेमा स्पष्ट नभएर सो कार्यको सिफारिस कुन वडाले गर्ने भन्नेमा अलमल भएको हुन सक्ने मेयर रिजालको भनाई छ ।
समन्वय तथा कार्य सहजताको लागि वडाको सिफारिस आवश्यक ठानिए पनि नगरपालिकाले नै कार्य सम्पादन गर्ने स्पष्ट पारिएको छ ।