गाउँमा गए जनताले ढुंगाले हानेर मार्छन्ः सांसद् विक


काठमाडौं ।
‘गाउँका मानिसमा आक्रोश छ जिल्ला जान सकिएको छैन, काम केही नहुँदा जनतामा निराशा छाएको छ’ प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद आशाकुमारी विकले भन्नुभयो ‘ कि हामीलाई खोलामा बगाइदिन्छन्, बैशाखयता १८ जनाको निधन भइसकेको छ, सरकारले चासो देखाएको छैन ।’
बझाङबाट समानुपातिक सांसद् बन्नुभएकी विकले बाटो निर्माण गर्ने क्रममा जथाभावी डोजर चलाएकाले बस्तीमा समेत असर परेको बताउनुभयो । डडेलधुरामा बन्दै गरेको पुल भत्किएको भन्दै उहाँले धेरै योजनाहरु अलपत्र भएकाले तत्काल निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । समितिले आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सम्पादित कार्यहरु, भावी कार्ययोजना, समस्या र चुनौतीकाका साथै आगामी कार्यक्रमका बारेमा प्रष्ट पार्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायत अन्य जिम्मेवार पदाधिकारीहरुको उपस्थितिमा भएको बैठकमा मन्त्री महासेठले समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको सभापति जिपछिरिङ लामाले बताउनुभयो । ‘ सांसद्हरुले गरेको प्रश्नको त्यतिबेला पनि मन्त्रीले जवाफ दिनुभयो, तत्काल भन्न नसकिने केही प्रश्नको जवाफ अर्को बैठकमा दिने भन्नुभएको छ ’ सभापति लामाले भन्नुभयो ‘ अहिले जनताका धेरै गुनासा छन्, कुनै नीति नियमले काम गर्न समस्या छन् भने छलफलबाट नियम संशोधन गरौं भनेका छौं ।’ लामाले बैठकमा सांसद्हरुले विभिन्न ठाउँमा बिग्रिएका सडक, अलपत्र भएका निर्माण कार्य, टेण्डर लगायतका विषयमा बढी छलफल भएको जनाउनुभयो ।
सांसद् विकले भदौ १२ गतेसम्म काठमाडौंका खाल्डाखुल्डी पुरिसक्ने आश्वासन मन्त्रीले दिएको बताउनुभयो । मन्त्रीले सांसद्ले प्रश्न गरेपछि अस्पष्ट भएपछि पुनः प्रश्न गरेर समस्याबारे जानकारी लिनुभएको थियो । बैठकमा १७ जना सांसद्ले अहिले भइरहेका समस्या, त्यसको निकास र आगामी दिनमा आइपर्ने खतरालाई समाधान गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।