मुलुकको आर्थिक विकासमा योगदान गर्न आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिलाई आधार मानेर मुलुकको आर्थिक विकासमा योगदान गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको बुधबार बुटवलमा भएको चौंथो बार्षिकोत्सव समारोहमा उहाँले सो आग्रह गर्नुभएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य लिएको स्मरण गर्दै डा. नेपालले अब कसैले पनि आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताउनुभयो। नेपालमा दुई वर्षयता लगातार आर्थिक वृद्धि भईरहेको बताउँदै मुद्रास्फिति पनि राम्रो रहेको जानकारी गराउँदै आगामी दिनमा पनि ७ अंक भन्दा कम हुने बताउनुभयो ।‘आर्थिक विकास एउटा रफ्तारमा अंगाडी बढेको छ ।’ उहाँले भन्नुभयो ‘यसमा बैंक तथा वित्तीय संस्थाले होस्टेमा हैंसे गर्ने हो ।’
उहाँले यो वर्ष ९८ प्रतिशत भँभागमा धानबाली भएकाले र धानबालीले १ दशमलब ५ देखि २ प्रतिशतसम्म योगदान गर्ने बताउँदै ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कुनै समस्या नभएको बताउनुभयो ।

गभर्नर नेपालले बैंक तथा बित्तीय संस्थालाई प्रविधिको अधिकतम प्रयोग गरी प्रविधिमैत्री सेवा प्रवाह गर्न पनि आग्रह गर्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीको क्षेमता अभिबृद्धिमा जोड दिँदै उहाँले मुनाफाको ३ प्रतिशत मानव संशाधन विकासमा खर्च गर्नुपर्ने रकमको समुचित प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

मुलुकमा प्रविधिको विकाससंगै बैंक तथा वित्तीय संस्थामा पनि प्रविधि बुझेका र नयाँ पिढी आवश्यक रहेको बताउँदै उहाँले पुरानो पुस्ताको अवकाससंगै नयाँ पुस्तालाई भित्र्याउनु पर्नेमा जोड दिनुभयो ।
हाल मुलुकमा ५ सय ६३ स्थानीय तहमा मात्रै बैंक तथा वित्तीय संस्था पुगेको जानकारी गराउँदै डा. नेपालले लघुवित्त बित्तीय संस्थालाई दुर्गम, विकट र गरिवी भएका स्थानमा जान आग्रह गर्दैै त्यस्ता स्थानमा जाने लघुवित्तलाई नेपाल राष्ट्र बैंकले प्रोत्साहन स्वरुप ४० लाख रुपैंया अनुदान प्रदान गर्ने बताउनुभयो ।

दोहोरो सुविधा रोक्नका लागि नेपाल राष्ट्र बैंकले कर्जा सँचना केन्द्र सञ्चालन गरेको र अव कर्जा लिने व्यक्तिको कर्जा सँचना केन्द्रमा दर्ता हुने बताउँदै यसले व्यक्तिको क्षमताको आधारमा कर्जा लिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले प्रदेश सरकारले भदौ भित्रै प्रदेशको समग्र क्षेत्रलाई समेटेर प्रोफाईल बनाईने र त्यसमा बित्तीय अवस्था समेत आउने भएकाले त्यसले बित्तिय संस्थालाई सबैको पहुँचमा पु¥याउन तथा सवल बनाउन सकिने बताउनुभयो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले राज्यका सबै संस्था व्यावसायिक हुनुपर्ने र आफ्नो आम्दानीले आफ्नो संस्था धान्नुपर्ने बताउनुभयो ।

ग्रामीण लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय ग्रामीण बिकास बैंक मर्जर हुँदै २०७१ मा बैंकको सञ्चित नोक्सानी ७६ करोड ६१ लाख १६ हजार रहेकोमा हाल २४ करोड ६५ लाख ५६ हजारमा झरेको जानकारी गराउनुभयो । उहाँले लगानी योग्य बित्तीय स्रोतको अभाव, थोक कर्जामा वाणिज्य बैंकहरुले अन्य बैंकहरुलाई भन्दा २ देखि ३ प्रतिशत सम्म बढी व्याज लिँदा समस्या भएको भन्दै सिमा निर्धारण गर्न माग गर्नुभयो ।

ग्रामिण बिकास लघुवित्त बित्तीय संस्थाका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक खस्यौली शाखाका प्रवन्धक शंकर पहरी, संस्थाका वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रमेश जिसी, कर्मचारी संघका अध्यक्ष नवराज ढकाल, कर्मचारी संगठनका दिपेन्द्र लुईटेल, कम्पनी सचिव दिपक पाण्डे लगायतले भनाई राख्नुभएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारी, शाखा तथा थोक कर्जा उपलब्ध गराउने वाणिज्य बैंकलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।