नगरवासीलाई बुटवल उपमहागरपालिकाद्धारा राहात प्रदान


यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को राजधानीमा रहेको बुटवल उपमहागरपालिकाले नगरभित्रका नागरिकले घर बनाउदा कार्यालय भित्रैवाट घरको नक्सा तथा डिजाइनका सेवा पाउने भएका छन ।
नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्सा सम्बन्धी सबै काम अब एकै ठाउँबाट हुने छ । अब नयाँ घरको नक्सा तथा डिजाइनका लागि सेवाग्राहीले बाहिर धाइरहनु पर्ने छैन ।
उनीहरुलाई घर बनाउने स्वीकृतिदेखि त्यसको डिजाइन बनाउने सम्मका कामहरु अब उपमहानगरभित्रै हुनेछन् । यो नयाँ अभियानका लागि विशेषज्ञ अर्थात् प्रविधिकहरु उपमहानगर भित्रै व्यवस्था गरिएका छन् ।
यसका लागि न्यूनतम शुल्क तोकिएको छ जुन बाहिर भन्दा धेरै सस्तो पनि छ । ‘नगरबासीलाई नक्साको कामका लागि अनावश्यक रकम खर्चिनुपरेको र अनेक झन्झटहरु खेप्नुपरेका गुनासाहरु आएपछि यस्तो काम सुरु गरिएको हो ।’ नगर प्रमुख शिवराज सुवेदीले भन्नु भयो ।
आर्थिक वर्ष ०७५र७६ को वजेट, नीति तथा कार्यक्रममा यसलाई समावेश गरिएको छ । नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने एकतलामा एक हजार वर्ग्फिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्सा न्यूनतम शुल्क ५ हजारदेखि अधिकतम ८ हजार रुपैयाँ लिएर तोकेको प्राविधिज्ञले सेवाग्राहीले चाहे अनुरुपको बनाइदिने गरी मापदण्ड बनाइएको प्रमुख सुवेदीले जानकारी दिनु भयो ।
भवनसंहिताको सही पालना नभएको, मापदण्ड मिच्ने कामहरु भइरहेको र अतिरिक्त रकममा मिलेमतो हुने गरेको चौतर्फी गुनासो आएपछि जनप्रतिनिधिले यस्तो निर्णय गरेका हुन् ।
बाहिर कन्सल्टेन्सी खोलेर बसेका इन्जिनियरहरुले न्यूनतम ३० हजार शुल्क लिने गरेका छन् । तोकिएको मापदण्डअनुसार घर बन्ने, नक्सा स्वीकृति लिँदा र दिँदा कुनै समस्या नआउने र न्यूनतम शुल्कमा आफ्नै नगर सरकार भित्र सहज सेवा लिन मिल्ने गरी यस्तो प्रावधानको व्यवस्था गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनु भयो ।
नयाँ कार्यक्रम अनुसार साउन २९ गते मंगलवारदेखि नै यो सेवा उपलव्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत राजन कुमार विसीले बताउनु भयो ।
नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार सेवाग्राहीले घर नक्सा निर्माणका लागि जग्गाधनी पूर्जा, राजीनामा, चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्सा, फाइल नक्सा, घर धनीको फोटो र चारकिल्ला विवरण सहितका कागजात आवश्यक पर्दछन ।