भेरी नदिले तीन पसल बगायो


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको गोतामकोट स्थित छोटेबगरमा ३ वटा पसल भेरी नदिले बगाएको छ । त्रिवेणी नलगाड नगरपालिका वडा नम्बर १२ को तल्लु बगरमा सोमबार साँझ आएको पहिरोले भेरी नदि थुनिंदा छोटेबगरका तीन पसल बगेका हुन् । लगातारको वर्षापछि झरेको पहिरोका कारण सातवटा पसल समेत जोखिममा परेको रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक सुमित खड्काले बताउनुभयो । उहाँका अनुसार जाजरकोटको भूभागमा पहिरो खसेको तर, क्षति रुकुमको भूभागमा भएको छ ।

पहिरोले तीन पसल बगाएपनि जोखिममा रहेका अन्य सबै पसलको सामान भने प्रहरीको टोली र स्थानीय मार्फत झिकिएको बताईएको छ । नदी माथीबाट आएको पहिरोले भेरी नदीको बहाबलाई रुकुमको भूभागतर्फ धकेल्दा छोटेबगरमा रहेका पसलहरुमा क्षति पुगेकोे हो । पहिरो झरेलगत्तै गोतामकोटमा रहेको प्रहरीको टोली छोटेबगरमा खटिएको थियो । तर नेटवर्क समस्याका कारण तीनवटै पसलको क्षतिको पूर्ण विवरण अहिलेसम्म आईनसकेको प्रहरीले बताएको छ ।