मोरङको सामूदायिक विद्यालयको ट्यांकीमा विषादी भेटियो, २२ विद्यार्थी बिरामी


सरोज यादव, मोरङ ।
मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् । जाँतेस्थित श्री माध्यमिक विद्यालयमा आज बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् । सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछिल्लो समय उक्त संख्या २२ पुगेको छ । बिरामीहरूलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिए । साइपिन नामको कीटनाशक विषादीको बट्टा विद्यालयको पानी ट्यांकीमा भेटिएको छ । पानी ट्यांकीमा कसले विषदी हाल्यो भन्नेबारे केही खुलेको छैन । कसले विष हालेको भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिएका छन । साइपिन बालीमा लागेका किरा नष्ट गर्न लगाइने विषादी भएकाले यो विषादी खाएमा तत्काल मानिस र पशुको ज्यान जान सक्ने कृषि प्राविधिकले जनाएका छन् । विद्यालयको पानी ट्यांकीमा लेटाङ ८ तेलीखोलाबाट पानी ल्याएर हाल्ने गरिएको जनाइएको छ । विद्यालयमा ४९१ विद्यार्थी अध्ययनरत छन् ।