भ्यान दुर्घटनाबाट तार चुँडिएपछि विद्युत् आपूर्ति ठप्प


दोलखा ।
जिरीबाट पोखराका लागि छुटेको मालवाहक भ्यान लामोसाँघु–जिरी सडकको वैत्यश्वर गाउँपालिकास्थित खावा नजिकै दुर्घटना भएको छ ।

खावा बजारबाट भेनियर पाता लोड गरी छुटेको ना४ख ४९४० नंको भ्यान साइड दिने क्रममा सडक भासिएर करीब ५० मिटर तल खसेको र मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

भ्यान दुर्घटना भए पनि त्यसका चालक भने सकुशल रहेका छन् । दुर्घटनाका कारण विद्युत् प्रसारण लाइनको तार चुँडिएको प्रहरीले जनाएको छ । तार चुँडिएका कारण जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा विद्युत् आपूर्ति ठप्प भएको प्रहरी निरीक्षक माधव काफ्ले बताउनुभयो ।

भ्यान पल्टिने क्रममा विद्युत् प्राधिकरणको ३३ केवी प्रसारणलाइन माथि परेको थियो । निकै लामो दूरीसम्म तार चुँडिनुका साथै दुई वटा पोल कामै नलाग्ने गरी क्षतिग्रस्त भएपछि तामाकोशी सवस्टेशनमार्फत विद्युत् आपूर्ति हुने जिरी नगरपालिका र वैत्यश्वर गाउँपालिका अन्धकारमय भएको उद्योग वाणिज्य संघ जिरीका पूर्वअध्यक्ष मधु कार्कीले बताउनुभयो ।

भ्यान दुर्घटनाग्रस्त हुँदा प्रसारण लाइनमा क्षति पुगेपछि तामाकोशीस्थित विद्युत् सवस्टेशनमा रहेको ट्रान्समिटरमा समेत क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले जनाएको छ ।

यता नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका इञ्जिनियर उमेश श्रेष्ठले क्षतिग्रस्त विद्युत् प्रसारण लाइन निर्माण गर्न दुई÷तीन दिन लाग्ने भएकाले जिरी र वैतेश्वरमा तत्काल विद्युत् आपूर्ति हुन सक्ने सम्भावना नरहेको जानकारी दिनुभयो ।
रासस