गाउँपालिकानै बन्द गरी जनप्रतिनिधिदेखि कर्मचारीसम्म भ्रमणमा


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको एक गाउँपालिकाका जनप्रतिनिधि सहित कर्मचारी कार्यालय नै बन्द गरेर भ्रमण गएका छन् ।
जिल्लाको जीराभवानी गाउँपालिकाका प्रमुख, उपप्रमुख र कर्मचारी र शुक्रवारदेखि कार्यालय नै बन्द गरेर अवलोकन भ्रमणमा जिल्ला बाहिर गएका हुन् । गाउँपालिकाका प्रमुख रामप्रित महतो थारु, उपप्रमुख उषा चौधरी, पाँच वटै वडाका सदस्य र १५ जना कर्मचारीसहित ४० जनाको टोली अवलोकन भ्रमणमा जाँदा शुक्रवारदेखि गाउँपालिकाको काम ठप्प भएको स्थानीयहरुले जानकारी दिएका छन् ।
उक्त गाउँपालिका कार्यालयमा कुल १८ जना कर्मचारी कार्यरत रहेको तीमध्ये इन्जिनियर, आइटी अफिसर, स्वास्थ्य संयोजक, सह संयोजक, पशु चिकित्सक, नायव सुब्बा, लेखापाल, सब–इन्जिनियर, सामाजिक परिचालक, खरिदार, शिक्षा संयोजक, कृषि प्राविधिकसहित १५ कर्मचारी लिएर गाउँपालिका प्रमुख थारु शुक्रवारदेखि चितवन, पोखरा र लुम्बिनीको पाँच दिने भ्रमणमा गएका छन् । भ्रमणमा नगएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी तथा कार्यालय सहायकद्वय मनोजकुमार दास र नागेन्द्र महतो पनि शुक्रवारदेखि कार्यालयमा नआएको स्थानीयहरुले बताए ।
भ्रमणको खर्च ६ लाख रुपैयाँ पनि गाउँपालिकाकै बजेटबाट निकासा गरिएको छ । गाउँपालिका कार्यालय बन्द हुँदा सेवाग्राहीहरु काम हुन नसकेपछि निराश भएर फर्कन बाध्य भएको गाउँपालिका कार्यालय अगाडि घर भएका स्थानीय ओम प्रकाश चौधरीले बताए । गाउँपालिकाका प्रमुख रामप्रति महतो थारुले भने आफूहरू अवलोकन भ्रमणका लागि जिल्ला बाहिर आएकाले कार्यालय बन्द रहेको बताए ।