धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु


रसुवा ।
पहिरोले अवरुद्ध भएको धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले बाटो मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

यही साउन १८ गते शुक्रबारदेखि पहिरोको कारण आवतजावतमा समस्या हुँदै आएको थियो । तीन दिनपछि सुरु हुने गोसाइँकुण्ड मेलालाई मध्यनजर गर्दै सेनाले करिब ३० मिटर बाटो मर्मत गरेको नेपाली सेना कालिजंग गणले जनाएको छ । गोसाइँकुण्ड जाने तीर्थयात्रीमध्ये करिब ९० प्रतिशत यही पदमार्ग भएर जाने गर्दछन् । गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् ।

कालिजंग गणले त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । काठमाण्डौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ । त्यसपछि काठमाण्डौँ–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी बाटो आउँछ । धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्योग गर्ने गरेका छन् । तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन् ।

गोसाइँकुण्ड आउने प्रमुख पश्चिमी पर्यटकहरूमा सबैभन्दा धेरै फ्रान्स, जर्मन, इजरायल, कोरिया, जापान र नेदरल्याण्डका छन् । गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको सहासिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले आउने गरेका छन् । जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।