पहिरोले महाकाली राजमार्ग अवरुद्ध


विनोद सिंह विष्ट, बैतडी ।
केही दिनदेखिको लगातारको बर्षाले आज बिहान पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको गोकुलेश्वर–दार्चुलाको खलंगा सडकखण्ड अन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँज नजिक सडक माथिवाट ठुलो पहिरो खस्दा राजमार्ग भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । बिहान १० बजे खसेको पहिरोका कारण उक्त सडकखण्ड पुर्ण रुपमा बन्द भएको छ । बैतडीको पाटनवाट गएको डोजरले पहिरो पन्छाउने प्रयास गरिरहेको भएपनि ठुलो पहिरोका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । लगातारको पानी त्यसैमा ठुलो पहिरो खसेकोले गाह्रो भएको छ । उनले भने“डोजरले पहिरो पन्छाउन नसक्दा ठुलो मेसिन लगाउने तयारी गरेका छौं ”
राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारी साधन पुर्ण रुपमा बन्द भएका छन् । दार्चुलावाट काठमाडौं,महेन्द्रनगर, धनगढी ,डडेल्धुरा बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी,बैतडीवाट दार्चुलाका लागी छुटेका सवारी साधन बिच बाटोमै रोकिएका छन् । सवारी साधन बिच बाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुदै आएको छ ।