क्रिकेटर करण नगदसहित सम्मानित


विजय नेपाली, पोखरा

क्रिकेटका राष्ट्रिय खेलाडी करण केसीलाई गण्डकी प्रदेशले नगदसहित सम्मान गरेको छ।

राष्ट्रिय खेलाडी करणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई एक दिवसीय खेलको लागि महत्वपूर्ण योगदान दिँदै गण्डकी प्रदेश र समग्र नेपालको नाम उज्वल बनाउन मुख्य भूमिका खेलेको भन्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले नगद १ लाख रुपियाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो।

केसीलाई सम्मान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान सुपारी बाँडेजस्तो मात्रै रहेको बताए। खेलकुदको माध्यमबाट प्रदेश र देशकै नाम उच्च बनाउने खेलाडीलाई सम्मान गर्ने परम्पराको गण्डकी प्रदेशले थलनी गरेको बताउँदै सम्मानस्वरूप दिइएको रकम सानो भए पनि यो सुरुआत भएको बताए। उनले भने– ‘यो सानो रकम हो। यो १ लाखले करणलाई केही पनि हुँदैन, सुपारी बाँडेजस्तै हो। अब यसले निरन्तरता पाउँछ।’

कार्यक्रममा सम्मानित हुँदै करणले सम्मान आफूलाई नगरी क्रिकेटलाई सम्मान गरेको बताए। सम्मानले क्रिकेटलाई अझ माथि लैजाने प्रेरणा दिएको बताए।