मन्त्री चौधरीद्वारा निरीक्षण


नेपालगन्ज ।
प्रदेश नं ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बाँकेमा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आज निरीक्षण गर्नुभएको छ ।

बाँके जिल्लाको जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालनमा छ । निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री चौधरीले कार्यक्रमको महत्व बुझेर त्यसलाई सफल बनाउन स्थानीय तहका जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

उहाँले गाउँका सबै समस्या एकैपटक समाधान हुँदैनन्, तर बजेटको सही सदुपयोग, जिम्मेवारीबोध र जनताप्रति उत्तरदायी भएमा गाउँको मुहार फेर्न सकिन्छ भन्नुभयो ।

मन्त्री चौधरी नेतृत्वको निरीक्षण टोलीमा प्रदेश नं ५ का सांसद बाबुराम गौतम र इन्द्रप्रसाद खरेल, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी लगायतको सहभागिता थियो ।
रासस