कञ्चनपुरको पश्चिमी नाका अवरुद्ध


भीमदत्तनगर ।
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर भारत ओहोर–दोहोर अवरुद्ध भएको छ ।

महाकाली नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेज ९बनबासा० पुलमा चारपाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

आज बिहान गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख १७ हजार ४०० क्युसेक रहेको प्रहरीले जनाएको छ । गड्डाचौकी प्रहरीले बिहान १० बजेदेखि पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारीसाधन रोक लगाइएको छ ।

विगत लामो समयदेखि पुल जीर्ण भएका कारण भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्दा आवागमनमा रोक लगाउँदै आएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले महाकालीमा पानीको बहाव बढ्दै गएको जानकारी दिनुभयो । उहाँले पानीको बहाव बढेसँगै महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रहसमेत गरिएको बताउनुभयो ।

शनिबार रातिदेखि भइरहेको वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै जनजीवनसमेत प्रभावित बनेको छ ।

खोलाले बगाउँदा मृत्यु

लगातारको वर्षासँगै कञ्चनपुरको स्याली नदीमा आएको बाढीले बगाउँदा शुक्लाफाटा नगरपालिका–७ शान्तिनगरका एक महिलाको मृत्यु भएको छ ।

भैँसीसँगै नदी तर्ने क्रममा आज बगेर स्थानीय ४७ वर्षीया गोमती भट्टको मृत्यु भएको शुक्लाफाटा नगरपालिका–७ का वडाध्यक्ष एवं नगर प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिनुभयो ।
रासस