मुक्त हलियाको रकममा अनियमितताः जिल्ला प्रशासन कार्यालयमा निवेदन


विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकका १६ जना मुक्त हलियाहरुले आफूहरुसंग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य बीरभान कोली विरुद्ध जिल्ला प्रशासन कार्यालयमा आज निवेदन दिएका छन् ।
नेपाल सरकारको हलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा ८ हजारका दरले रकम मागेको मुक्त हलियाहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा संयुक्त रुपमा निवेदन दिदै उनीहरुले आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसंग आग्रह समेत गरेका छन् ।
जिल्ला मालपोत कार्यालय मार्फत आफूले पाएको रकममा कोलीले ८ हजारका दरले मागेको मुक्त हलिया बीरभान महरले बताए । साउन १७ गते ग्वाल्लेकका दुखी रानासंग १६ हजार मध्ये ९ हजार पाँच सय घुस मागेपछि घटना बाहिर आएको हो । ९ हजार ५ सय मागेपछि आफूले प्रहरीमा निवेदन दिएको र बीरभान कोलीले पछि रकम फिर्ता गरेको रानाले बताए । बीरभान कोलीले आफूले पाएको रकम मध्ये ९ हजार ५ सय बीरभान कोलीले मागेको चम्भा महरले बताईन्।
मुक्त हलियाहरुले दिएको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रैले यो बिषयमा छानबीन गर्ने बताए । उनले“ मुक्त हलियाबाट पैसा मागेको पाइएमा कानुन अनुसार कारवाही गरिनेछ” ।
मुक्त हलियाको रकममा जिल्लाभरी दुरुपयोग हुन सक्ने हलिया मुक्ति समाजका पूर्व केन्द्रिय अध्यक्ष राजुराम भुलले बताए । तर जिल्ला हलियामुक्ति समाजका सदस्य बीरभान कोलीले भने आफूले पैसा नलिएको दाबी गरेका छन्। आफूलाई फसाउन राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाएको उनको दाबी छ ।
बैतडीमा गत आर्थिक बर्षमा एक हजार मुक्त हलिया परिवारका लागि मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत रकम आएको थियो । सरकारले मुक्त हलियाहरुलाई घर निर्माणका लागि ३ लाख २५ हजार, जग्गा खरीदका लागि २ लाख र घर मर्मतका लागि १ लाख २५ हजारका दरले रकम दिदै आएको छ । बैतडीमा २ हजार २२ जना मुक्त हलिया रहेको तथ्यांक छ ।

?