गएरातीदेखि भईरहेको वर्षाले राजविराजकाे गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुवानमा


शिवहरी भट्टराई, राजविराज ।
लामो समयदेखि वर्षा नहुँदा जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने माग उठिरहेका वेला शनिवार रातीदेखि भईरहेको वर्षाले सदरमुकाम राजविराजको केहि वडा जलमग्न वनाउनुका साथै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुवानमा पारेको छ ।
आईतवार विहनसम्म परेको अविरल वर्षाले राजविराज नगरपालिकाको वडा ४, ५, ७, ९, ११ र १६ लाई जलमग्न वनाउनुका साथै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई डुवानमा पारेको हो । वर्षाको पानीले निकास नपाउँदा औद्योगिक क्षेत्रमा पानी पसेर लाखौंको कच्चा पदार्थ र मेसिन क्षेती भएको पीडितहरुले वताएका छन् ।
औद्योगिक क्षेत्रका प्रमुख दिपक आचार्यका अनुसार वर्षाको पानी पसेर औद्योगिक क्षेत्रभित्र संचालनमा रहेको महालक्ष्मी र कोशी पोलिमर्स प्लाष्टिक उद्योगमा करिव १५ लाखको कच्चा पदार्थ नष्ट हुनुका साथै उपकरण र मेसिनहरुमा क्षती पुगेको छ ।
यस्तै, कृष्णा खाद्य उद्योगको गोदाममा वर्षाको पानी पसेर २ लाखभन्दा वढिको चामल र उपकरण नष्ट भएको उद्योगका संचालन जिवछ यादवले वताए । सोहि क्षेत्रभित्र रहेको मिलन डेरी उद्योगमा पनि वर्षाको पानी पसेर १ लाख वरावरको कच्चा सामग्री नष्ट भएको र पानीको तिव्र वेगका कारण गोदाम भवन नै ढल्ने अवस्थामा पुगेको औद्योगिक क्षेत्र ब्यवस्थापन समितिले जनाएको छ ।
डुवानको खवर पाएपछि आईतवार विहानै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी राजेन्द्र विष्टको नेतृत्वमा प्राविधिक सहितको टोली पुगेर औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । सो क्रममा प्रजिअ पौडेलले वर्षाका कारण हुन सक्ने थप सम्भावित क्षती रोक्न तत्काल पहल गर्ने वताएका थिए ।
आईतवार दिउँसोदेखि वर्षा रोकिएपनि सम्भावित वर्षालाई ध्यानमा राखी तत्काल उद्दार तथा राहतका लागि सुरक्षाकर्मी र विपद ब्यवस्थापन समिति उच्च सतर्कमा रहेको प्रजिअ पौडेले वताए ।