डिजिटल विद्यालय निर्माण गर्दै कर्णाली सरकार


दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ ।
सरकारले चालु आर्थिक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको हो । शैक्षिक क्षेत्रको उन्नयन र प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउ पु¥याउने उद्देश्यले डिजिटल विद्यालय निर्माणको तयारीमा सरकार लागेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्नतर्फ जोड दिएको बताउँदै कानूनमन्त्री भण्डारीले भने “सरकारको ‘डिजिटल स्कुल कार्यक्रम’ अन्तरगत यहाँका माध्यमिक विद्यालयहरुमा विद्युतीय शिक्षण सिकाईको अभ्यासबाट हामीले २४ विद्यालयलाई नमूना बनाउने मापदण्ड तयार पारेका छौं,”
प्रारम्भिक चरणमा यस प्रदेशका २४ वटा निर्वाचन क्षेत्रलाई लक्षितगरी प्रत्येक निर्वाचन क्षेत्रमा उटा डिजिटल विद्यालय निर्माण गरिने मन्त्री भण्डारीले बताए । उनका अनुसार विद्यालय छनोट गर्दा सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यले गरेको मूल्याङ्कन तथा सिफारिसलाई मुख्य आधार बनाईने छ ।
डिजिटल स्कूल कार्यक्रम मार्फत् माध्यमिक विद्यालय छनोटका लागि सातवटा मापदण्ड तयार गरिएको छ । जस अनुसार सोलार÷बिजुलीको पहुँच, माध्यमिक तहमा कम्प्यूटर विषयमा अध्ययन अध्यापन, कम्प्यूटर सम्बन्धी ज्ञान भएको जनशक्तिको उपलब्धता, विद्यालयको भौतिक तथा सुरक्षा अवस्था, लाभान्वित विद्यार्थीको अभिरुची, ईन्टरनेट सेवाको उपलब्धता र विद्यालयको माग, तत्परता, अपनत्व र दिगोपन रहेका छन् ।
सातवटा मापदण्डलाई १०० पूर्णाङ्क कायमगरी सम्बन्धित क्षेत्रका सभा सदस्यहरुले दिएको नम्बर र गरेको सिफारिसलाई आधार मानी विद्यालय छनोट गर्ने जनाईएको छ । मापदण्ड अनुसार छनोट हुने विद्यालयका लागि प्रारम्भिक चरणमा सरकारले रु.तीन करोड बजेट विनियोजन गरेको छ ।

के–के हुनेछ त डिजिटल विद्यालयमा ?
सरकारले निर्माण गर्ने डिजिटल विद्यालय सुशान्त, बालबालिकामैत्री र सिसि क्यामेरा जडित हुनेछ । डिजिटल बोर्डबाटै अध्ययन अध्यापन गराईनेछ । एन्ड्रोइड अर्थात एप्लिकेसन मार्फत् अभिभावकले आफ्ना बालबालिकाको पठनपाठन नियाल्न पाउनेछन् ।
ई–लाईब्रेरीको व्यवस्था हुनेछ । हरेक दिनको शिक्षक विद्यार्थीको उपस्थिति र तिनले गर्ने क्रियाकलापको रेकर्ड रहनेछ । बालबालिकालाई भविश्यको अन्वेषक बन्न उत्प्रेरित गर्नेछ । इन्टरनेटको सहयोगाट शिक्षक विद्यार्थीलाई विश्वसँग जोडिएर नविनतम् ज्ञान, सन्देश, सूचना तथा जानकारी लिन सहजता मिल्नेछ ।
दुर्गम गाउँ तथा मनस्थिति सुगममा परिणत हुनेछ । यसले डिजिटल कर्णाली अभियानको व्यवहारिक कार्यान्वयन सहयोग पु¥याउने अपेक्षा गरिएको मन्त्री भण्डारीको भनाई छ ।