कर वृद्धिको विरोधमा चितवनमा अनशन


चितवन ।
चितवनको रत्ननगर नगरपालिकामा भएकोे कर वृद्धिको विरोधमा आइतबारबाट रिले अनशन सुरु भएको छ । नेपाली कांग्रेलगायत रत्ननगर नगरपालिकामा क्रियाशील विभिन्न सात राजनीतिक दलले संयुक्तरुपमा विरोधस्वरुप रिले अनसन बसेका हुन् । नगरपालिकाले गरेको कर वृद्धिलगायतको ११ विषयमा संयुक्त संघर्ष समिति आन्दोलित हुँदै आएको थियो । चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दा समेत नगरपालिका नेतृत्वले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै रिले अनशनमा बस्नु परेको नेपाली कांग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले बताए ।

रत्ननगर नगरपलिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै विभिन्न राजनीतिक दलले विरोध गर्दै आएका छन् । उनीहरुले अनशनसँगै राजस्व शाखासमेत बन्द गराएका छन् । अघिल्लो वर्ष ३१५ रुपैयाँ कर तिरेको तर यसवर्ष कर वृद्धि भएर ६ हजार २४० रुपैयाँँ तिरेको रत्ननगर नगरपालिका वडा नम्बर ९ का स्थानीय गोपाल शर्माले बताए । अत्याधिकरुपमा बढाइएको करले जनता मर्कामा परेको उनले गुनासो गरे ।

रत्ननगर नगरपालिकाले भने करको दरमा वृद्धि नभएको तर जग्गाको मूल्याङ्कन बढेकोले करको रकम बढेको बताउँदै आएको छ । अघिल्लो वर्ष १५ लाख ६१ हजार रुपैयाँ मूल्याङ्कन भएको जग्गाको अहिले मूल्याङ्कन बढेर ८६ लाख ९७ हजार पुगेकोले करको रकम बढेको नगरपालिकाको दाबी रहेको छ । मालपोत कार्यालयको मूल्याङ्कन अनुसार जग्गाको मूल्याङ्कन गरेको नगरपालिकाले जनाएको छ । स्थानीयले भने जग्गा बिक्रीवितरण गर्दा एक पटक तिर्ने करको मूल्याङ्कन र प्रत्येक वर्ष तिर्ने करको लागि मूल्याङ्कन एकै बनाउनु व्यवहारिक नहुने बताएका छन् । आन्दोलमा उत्रिएका दलहरुले वृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।

कर संकलनमा अवरोध

अनशनमा उपस्थित हुन आएका विभिन्न पार्टीका कार्यकर्ताहरुले राजस्व शाखामा राजस्व संकलन भइरहेका बेला अवरोध पुर्याएका छन् ।

उनीहरुको अवरोधपछि कर राजस्व संकलन कार्य बन्द भएको छ । नगरपालिकाको एकांकी र उदार नीति विरुद्ध आफूहरु आन्दोलन उत्रनु परेको नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरेले बताए । बिहानदेखि सुरु भएको अनशनमा कांग्रेस नगर सभापति घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, ,राष्ट्रिय प्रजातान्त्रिक पार्टीका पिताम्बर आचार्य, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का गोविन्द अधिकारी, नेकपा मालेका नगर सचिव रामहरी लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठासहित नेता कार्यकर्ता सहभागी छन् । उनीहरु नगरपालिका परिसरमा अनसनमा बसेका छन् ।

दलहरुले कर वृद्धिसहित विभिन्न ११ बुँदा माग सम्वोधन हुनु पर्ने भन्दै साउन १४ गतेदेखि आन्दोलन सुरु गरेका थिए । ‘कर वृद्धि अवैज्ञानिक छ’ कांग्रेस नगर सभापति घिमिरेले भने, ‘ वृद्धि भएको कर नघटाएसम्म हामी आन्दोलन जारी राख्छौ ।’ नगरसभापति घिमिरेले आफ्ना मागका विषयमा नगरपालिकालाई घुँडा टेकाएरै छाड्ने समेत बताएका छन् ।

करका प्रशासनिक प्रक्रियालाई सरल नबनाई साथै उठ्नु पर्ने सम्पती कर, व्यावसायिक कर, घरबहाल कर, मालपोत शुल्कलगायतमा अस्वभाविक वृद्धि गरिएको, नगरपालिकाको विकास बजेटबाट विलासिता झल्कने सवारी साधन खरिद गरी प्रयोग गरेको, प्रयोगका लागि अनुपयुक्त साधन प्रयोगविहीन बनाइ थन्काएर राखेको, शिक्षा नियमावलीको उल्लंघन गर्दै सामुदायिक विद्यालयको व्यवस्थापन समिति माथि आक्रमण गरेको, भ्रष्टाचार विरुद्धको शून्य सहनशिलताको नीतिलाई सशक्तरुपमा कार्यान्वयन गर्न नसकेको भन्दै दलहरुले नगरपालिकाप्रति असहमति जनाउँदै आएका छन् ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले चित्त नबुझेको विषयमा वसेर छलफल गर्न सकिने बताएका छन् । दलहरुको आन्दोलनका विषयमा एक दुई दिनमै केही निष्कर्ष निस्कने उनले बताए ।