प्रदेशलाई उपेक्षा गरेर देश समृद्ध बन्दैन्ः मन्त्री यादव


कृष्ण आचार्य, चितवन ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेशलाई उपेक्षा गरेर देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् ।

आज भरतपुर अस्पतालको निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले संघीयतामा अधिकार, स्रोत र शक्ति प्रदेशलाई दिनुपर्ने बताए । देशमा संघीयता संस्थागत बनेमात्रै जनतालाई प्रदान गरिने सेवा दह्रो हुने मन्त्री यादवको तर्क छ । ‘स्वस्थ्यलगायत अन्य क्षेत्रका अधिकार प्रदेशलाई दिन सुरु गरिएको छ’ उनले भने, ‘स्थानीय निकायको शक्ति र केन्द्रीय योजना मिल्नुपर्छ ।’ संघीयता बलियो बने मुलुकको विकास र समृद्धि त्यतिनै अघि बढ्ने मन्त्री यादवको भनाइ छ ।

पछिल्लो समय करका कारण संघीयतामा समस्या आएको भन्दै कर उठाउने कुराको अस्पष्टता अन्त्य गरिनुपर्ने उनले बताए ।

मन्त्री यादवले सरकारले स्वास्थ्य र शिक्षालाई नीतिगतरुपमा पहिलो प्रथामिकतामा राख्ने भन्दै स्वस्थ्य र शिक्षित नागरिक भए देश आफै विकास हुने बताए । उनले प्रत्येक स्थानीय तहमा प्राइमरी लेबलको अस्पताल निर्माण गरेर भरतपुरलगायतका अस्पतालमा देखिएको भीड कम गर्न सकिने जीकिर गरे । ‘सरकारले प्रत्येक गाँउपालिका र वडासम्म स्वास्थ्य सेवा पु¥याउने गरी नीति बनाएको छ’, उनले भने’ ‘यसपटक २०० अस्पताल बनाउन बजेट छुट्टाइएको छ ।’

मन्त्री यादवले भरतपुर अस्पताल जिल्ला अस्पताल नभई विषय विशेषज्ञ सेवासहितको अस्पतालको रुपमा रहेको बताए । विषय विशेषज्ञ सेवासहितको अस्पताल बनाउन उपयुक्त वातावरण र जग्गा आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई मन्त्री यादवले आग्रह गरे । अस्पताललाई केन्द्रीय अस्पताल बनाउनुपर्ने माग स्थानीय स्तरमा उठेको छ ।

भरतपुर अस्पतालको जग्गा अब अन्य प्रयोजनका लागि दिन नहुने मन्त्री यादवको जोड छ । ‘अस्पतालको जग्गाको निकै महत्व छ’ यादवले भने, ‘ठेक्का लगाएको र अन्य संघसंस्थालाई दिएको जग्गा फिर्ता गर भन्नुप¥यो ।’ अस्पतालको जग्गा उपयोग गरेकाहरुलाई आफ्नो बन्दोबस्त आफै गर भन्न मन्त्री यादवले निर्देशन दिए । अस्पतालमा निरीक्षण गर्दा अस्पतालको भविष्य राम्रो देखेको भन्दै उनले गरिब जनताले उपचार गर्ने ठाउँ भएकाले सबैले ध्यान केन्द्रीत गर्नुपर्ने बताए । क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई जोडेर अघि बढे चितवनलाई मेडिकल एकेडेमिक हब बनाउन सकिने मन्त्री यादवको भनाइ छ ।

सो अवसरमा बोल्दै प्रदेश सांसद विजय सुवेदी, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी, नेपाली कांग्रेस चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठ, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष प्रेम भुजेललगायतले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास माग गरे । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविन खड्काले अस्पतालको अवस्थाको बारेमा मन्त्री यादवलाई जानकारी गराएका थिए ।