ठगी आरोपमा तीन भारतीय पक्राउ


बाँके ।
माला लगाएका छन् । पहेलो कपडा टाउकोमा बेरेका छन् । हेर्दा नै तान्त्रिकजस्ता । औठी र त्यसको पत्थरसँगै भगवानको साना मूर्ति बोकेका छन् ।
नेपालगञ्जमा डुलिरहेका भारतीय तीन जना जादुगरी व्यक्तिको भेट प्रहरी जवान सुरेन्द्र चन्दसँग भयो । भिक्षा माग्ने हिसावले उनीहरु रोकिए । प्रहरी जवानले दश रुपैया निकालेर दिए । तीन जनामध्ये दिल्लीका दिपक महावतले समाते ।
बाराबंकीका पवन र सुपली महावतसँगै रहेका दिपकले प्रहरी जवानलाई उनले दिएको दश रुपैया मुठीमा कस्सेर समात्न लगाए । चन्दले उनले भनेकोजसरी दश रुपैयामा मुठीमा कस्सेर समाते । त्यसपछि चन्दलाई छातीमा हात राख्न लगाए । त्यो पनि गरे । र, छातीमै हात राखेर तिमीलाई मर्ने देवताको नाम लिऊ भने ।
चन्दले भगवान ‘शिव’ को नाम लिए । त्यसपछि मुठी खोल्न लगाए । मुठी खोल्दा त दश रुपैया होइन, हातमा सानो शिवको मूर्ति थियो । प्रहरी जवान अचम्ममा परे । त्यसपछि दिपकले भन्नुभयो, ‘तिमीले घरमा शिवको ठूलो मूर्ति राखेर आजीवन पूजा गर्नु ।’
यति भनेर तीन जना आफ्नो बाटो लागे । प्रहरी जवान चन्दको आँखा हातको औलामा प¥यो । औलामा त सुनको औठी नै थिएन । दौडिएर ती व्यक्तिहरुलाई खोज्न निस्के । अलिकति टाढा पुगेका तीन जना भारतीयलाई चन्दले समाते । अलिकलि कुटे । अनि, जिल्ला प्रहरी कार्यालय पु¥याए ।
जिप्रकामा भारतीयले नाटक नै गरे । ‘हामीले लगेकै छैनौ’ भन्दै दिपक रोए । प्रहरी जवान चन्दले पनि ढाँटेकोजस्तो देखिएन । प्रहरी अनुसन्धान अधिकृत छक्क परेका छन् ।
‘भारतीयले लगेको छैनौ भन्छन् । चन्दले यिनीहरुले लगेका छन् भन्छ, दुवैलाई राखेर छलफल गराउदै छौं, मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टले भन्नुभयो ।
चन्दका अनुसार, नौ हजार सात सयमा किनेको सुनको औठी उनीहरुले गायक बनाइदिएका छन् । दुवै पक्षलाई जिप्रकामा राखेर अबेलासम्म छलफल गराइएको छ ।
भारतबाट औठी र पत्थर तथा भगवानका साना मूर्ति बोकेर आउने यस्ता बाबा नामधारीले नेपालीलाई ठग्ने गर्दछन् । उनीहरु प्रत्येकसँग एक एक प्याकेट औठी र पत्थर थियो ।
भारतबाट हात हेराउने, यस्ता औठी र पत्थर बेच्ने, गहना सफा गरिदिने, घोडाको टापको औठी भन्दै बेच्न आउनेहरुले नेपालीलाई ठग्ने गरेका घटनाहरु बेलाबेलामा आउने गर्दछ ।