हड्डी उद्योग हटाउन माग


बाँके ।
भाटनपुरुवामा रहेको कुरैसी बोन प्रोसेसिङ उद्योगबाट निस्किने गन्धले स्थानीयवासी प्रभावित भएका छन् ।
उद्योगबाट निस्किने गन्धले आसपासको गाउँका बासिन्दा अति नै प्रभावित भएको भन्दै जनप्रतिनिधिसहितको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारीलाई भेटेका छन् । गाउँलेले केही दिनदेखि उद्योगमा ल्याउदै गरेको हड्डी बोकेको ट्रक रोकिदिएका छन् ।
सीमा क्षेत्रको पाँच किलोमिटर वरिपरि उद्योग खोल्न नपाउने नियम भएपनि दशगजादेखि दुई किलोमिटरभित्रै पर्ने भाटनपुरुवामा हड्डी प्रोसेसिङ उद्योग खोल्न दिदा स्थानीयवासी गन्धको चपेटामा परेको डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहन मिश्रले बताउनुभयो ।
भाटनपुरुवामा चार वर्षदेखि उक्त उद्योग चलिरहेको छ । ‘दाना उद्योग चलाउने हो । स्थानीयलाई पनि रोजगारी हुन्छ भनेर उद्योग खोलिएको थियो, वडाध्यक्ष मिश्रले भन्नुभयो, त्यहाँ दाना भन्दा पनि देशभरीबाट हड्डी ल्याएर आसपासका गाउँलाई दुर्गन्धित गराइएको छ ।’ उहाँका अनुसार, भारतीयले आफन्तीको नाममा उद्योग खोलेका छन् ।
उद्योगमा काठमाडौ, हेटौडा, पोखरा, बर्दिया, भैरहवालगायत ठाउँमा हड्डी ल्याउने गरिन्छ । हड्डीले अति नै दुर्गन्ध फैलाएपछि स्थानीयले कैयौ पटक उद्योग घेरेका छन् । त्यो बेलामा अब गन्ध रोक्न लिखित प्रतिबद्धताहरु भएका छन् ।
डुडुवा वडा नं. ६, नेपालगञ्ज वडा नं. १४ र १५ ले उक्त उद्योग बन्द या अन्यत्र सार्नका लागि पटक–पटक आग्रह गरेका छन् । वडा नं. १४ का अध्यक्ष ओमकारनाथ मिश्रले उद्योगबाट निस्किने गन्धले बसिनसक्नु भएको बताउनुभयो ।
भाटनपुरुवा, भवानीयपुर, महेन्द्रनगर, गुलामपुर, साइपुरुवा, बालापुर, पहाडीपुरुवा, मगतनपुरुवा, पिप्रहवा, भंघोट्ना, सुब्बापुरका बासिन्दा उद्योगबाट प्रभावित भएको वडाध्यक्ष मिश्रद्वयले बताउनुभयो ।
दलबलसहित जिल्ला प्रशासन कार्यालयका पुगेको वडाध्यक्ष मिश्रको टोलीलाई प्रमुख जिल्ला अधिकारी मदन भुजेलले तीन सदस्यीय टोली बनाएर निरीक्षण गर्न पठाउने आश्वासन दिएर पठाएका छन् । ‘जिल्ला प्रशासन, घरेलु र बाणिज्य कार्यालयको प्रतिनिधि रहेको तीन सदस्यीय टोली बनाएर निरीक्षणमा पठाउने प्रजिअ भुजेलले आश्वासन दिएका छन्, वडाध्यक्ष मिश्रले भन्नुभयो ।
स्थानीयवासीले हड्डी बोकेको ट्रक छिर्नै नदिने अडान लिएका छन् । स्थानीयको विरोधले गर्दा एउटा ट्रक चार दिनदेखि बाहिरै राखिएको छ । उद्योगका प्रतिनिधिले गन्ध नै नआउने दावी गर्दै आएका छन् । उमालेर तथा नगन्हाउने पदार्थ हालेर हड्डी ल्याउने गरेको उद्योगका प्रतिनिधिले प्रजिअ समक्ष बताएका छन् ।