नक्कली औषधि प्रकरणः गोल्डेन र जिग्री फार्मेसीका सञ्चालक पक्राउ


सरोज यादव, विराटनगर ।
नक्कली औषधि प्रकरणको अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका छन् । जीवन रक्षाका लागि प्रयोग गरिने औषधिको नक्कली कारोवार हुने गरेको सार्वजनिक भएपछि छानविन गरिरहको औषधि ब्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले गोल्डेन अस्पताल भित्र सञ्चालित गोल्डेन फार्मेसी र अस्पताल चोकमा सञ्चालित जिग्री फार्मेसीका सञ्चालक पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाण्डप राजवंशी (पाण्डु) र नैसाद अन्सारी छन् । पाण्डु गोल्डेन फार्मेसीका सञ्चालक हुन् भने अन्सारी जिग्री फार्मेसीका सञ्चालक हुन् । गोल्डेन अस्पतालभित्र सञ्चालित फेमली केयर फार्मेसीमा साउन १३ गते प्रहरीले छापा मार्दा नक्कली औषधि बरामद गरेको थियो । पाण्डु फेमलीकेयरमा पनि आवद्ध छन् । अस्पताल भित्र गोल्डेन फार्मेसी नाम गरेको कुनै फार्मेसी छैन । तर पाण्डुसहित रहवर अन्सारीलगायतले औषधि खरिद गर्नेले बिल माग्दा गोल्डेन फार्मेसीको बिल प्रयोग गर्दै आएका थिए । औषधि व्यवस्था विभागको टोलीले शुक्रवार उनीहरुलाई अस्पताल चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको थुनुवा कक्षमा राखिएको छ । यसअघि नक्कली औषधि प्रकरणका मुख्य नाइके भनिएका जीवन अग्रवाल सहित विराट मेडिकल कलेज भित्र सञ्चालित महुली फार्मेसीका सञ्चालक प्रशान्तकुमार चौधरी र म्याक्स अस्पताल भित्र सञ्चालित लाइफ लाइन फार्मेसीका सञ्चालक दिपककुमार राय पक्राउ परीसकेका छन् ।

नक्कली औषधि प्रकरणमा पक्राउ परेकाहरुलाई छुटाउन केही व्यवसायीहरु नै लागेका छन् भने जीवन अग्रवालसँग लाखौको कारोबार गरेका फार्मेसी अनुसन्धानको दायरामा नआएको एक औषधि व्यावसायीले बताए ।