चौरजहारीको नाख्ला र दमदमेमा अज्ञात रोग देखियो, एकको मृत्यु


धनवीर दाहाल, रुकुम ।
गत एक हप्ता यता रुकुम पश्चिमको चौरजहारी १२ र १३ मा अज्ञात रोग देखा परेको छ । एक्कासी रिङ्गटा लाग्ने , वान्ता हुने , छटपटी हुने र रक्तचाप घट्न गई बेहोसी हुने लक्षणहरु देखापरेको छ । सोही लक्षणका कारण वडा नम्बर १३ कि हिनिसा डाँगीको समेत ज्यान गइसकेको स्थानीयले बताएका छन् । बृद्धबृद्धा देखी वालवालिका सम्मलाई सो लक्षण देखा परेको स्थानीय स्वास्थ्यकर्मी लोकेन्द्र के.सीले बताउनुभयो । वडा नं १२ को नेप्टेकाँडा र वडा नं १३ को दमदमे र नाख्लामा यस्तो समस्या रहेको छ । हाल सम्म दुवै वडामा गरी ८ जनालाई सोही लक्षण देखा परेको छ । स्थानीय निजि स्वास्थ्य संस्थामा उपचार भइरहेको स्वास्थ्यकर्मी के.सीले बताउनुभयो । उहाँका अनुसार यो लक्षणका बिरामी पहिलो पटक देखिएका छन् । सोही लक्षणका कारण एक बिरामीको ज्यान गइसकेकोले तत्काल उपचारको बिशेष पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन् ।
स्थानीय दिलाराम शर्माले नगरपालिका र जिल्लाबाट बिशेष स्वास्थ्यकर्मीको टोली सहित गाँउ पठाईदिन अनुरोध गर्नुभएको छ । चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले सो वडाका जनप्रतिनिधिसँग समन्वय गरी तत्काल उपचारको लागी पहल गरिने बताउनुभयो । ति वडाबाट आफुलाई जानकारी नआएकोले त्यहाँको अवस्था बुझेर उपचारका लागी कुनै कमि हुन नदिने प्रमुख शर्माले बताउनुभयो ।