यस्तो अवस्था कहिले सम्म ?


धनवीर दाहाल, रुकुम ।
हरेक बर्ष बर्षातको समयमा जोखिम मोलेर वारवार गर्नै पितिबाङ खोलामा यो बर्ष पनि उस्तै जोखिम मोलेर वारपार गर्न बाध्यता छ । स्थानीय तथा प्रदेश एवं केन्द्र सरकारका हरेक प्रतिनिधिहरु जोखिम मोलेरै भएपनि यही खोलाबाटै यात्रा गरिरहेका भएपनि दिगो रुपमा समस्या समाधानमा कसैले चासो नदिएको स्थानीयबासीको भनाई छ । राप्ती लोकमार्ग अन्र्तगत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं ११ र १२ को पितिबांङ खोलामा मोटरेवल पुल नहुँदा जोखिम मोलेर यातायात संचालन भइरहेका छन् । हरेक बर्ष बर्षा सुरु भएसँगै जोखिम मोलेर रुकुमबाट बाहिरिने तथा रुकुममा भित्रने यात्रु तथा मालबाहक गाडी आवतजावत गर्न बाध्य छन् । अत्यधिक पानी परेको बेला खोलामा बाढी आउने र माथीबाट पहिरो खसिरहेको अवस्थामा पनि गाडी संचालन गर्न निकै जोखिम मोल्नु पर्दछ ।

यो खोलामा बाढी आएको बेला गाडी वारपार गर्न नसकेर घण्टौं जाम हुने गर्दछन् । सडकको बैकल्पीक उपाय नहुँदा यस्तो समस्या भोग्नु परेको छ । पुल बन्ने चर्चा बर्षाैं अगाडी देखी भएपनिकुनै पहल नहुँदा स्थानीयले हरेक बर्ष बर्षा याममा यही खोलामा सास्ती व्यहोर्नु परेको छ । यता मुसिकोट नगरपालिका वडा नं १२ का अध्यक्ष प्रेमबहादुर ओलीले आफुहरुको पहल जारी रहेको बताउनुभएको छ । वडाले नगरपालिकालाई दवाव दिइरहेको र नगरपालिकाले पनि सडक बिभागलाई पटक पटक दवाब दिएको उहाँले बताउनुभयो । सडक बिभागलाई तत्काल काम गर्नका लागी अनुरोध गर्दा सडक बिभागले सर्भे गरिएको जानकारी दिएको बताइएको छ । तर काम हुन नसकेको उहाँले बताउनुभयो ।

तर सडक डिभिजन चौरजहारीका प्रमुख आसिस थापा मगरले गत जेठ महिनाको अन्तिममा डिजाइन स्विकृत भइसकेको बताउनुभयो । असार महिनामा आर्थिक बर्ष सकिने भएकोले टेन्डर निकाल्न नसिकएको उहाँले जानकारी दिनुभयो । अव यो आर्थिक बर्षमा टेन्डर निकालेर निर्माणमा जाने डिई थापाको भनाई छ । यो आर्थिक बर्षमा सबै काम सम्पन्न नभएपनि कामलाई तिब्रता दिइने बताउनुभयो । अत्यधिक सवारी चाप हुने यो सडक खण्डको यस खोलामा यथासिघ्र मोटरेवल पुन निर्माण गर्नका लागी स्थानीय सरकार र अन्य सरोकार राख्ने निकायले पहल गर्न जरुरी छ ।