स्वास्थ्य बिमामा करिब ६ हजार नागरिक आबद्ध


विनोद सिंह विष्ट, बैतडी ।
सरकारले विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सुचारु भएको स्वास्थ्य बिमा कार्यक्रममा बैतडीमा हालसम्म ५ हजार ८ सय बढी व्यक्ति आवद्ध भएका छन् । जिल्लामा १ हजार १७९ परिवारका ५ हजार ८६१ व्यक्ति स्वास्थ्य बिमामा आवद्ध भएका स्वास्थ्य बिमा बोर्ड बैतडीका दर्ता अधिकारी बिष्णु जोशीले जानकारी दिए । हालसम्म स्वास्थ्य बिमा कार्यक्रमवाट ३४ लाख २९ हजार २९० रुपैंया योगदान रकम संकलन भएको उनले बताए ।

अघिल्लो आवमा बिमा गरेका ६४३ परिवारले बिमा गरेकोमा १७५ परिवारले मात्रै नविकरण गरेका छन् । बैतडीमा वि स २०७३ पुस ७ देखि स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको हो ।
उपचारक्रममा भोग्नु पर्ने कठिनाई , जनचेतनाको कमि, भौगोलिक बिकटता, स्वास्थ्य सेवाको अभाव लगायतका कारणले सोचे अनुरुपको काम हुन नसकेको स्वास्थ्य बिमा बोर्ड बैतडीले जनाएको छ । । जिल्लामा ८४ दर्ता सहयोगी परिचालित छन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ ।
बिमाकर्ताले जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली,गोकुलेश्वर अस्पताल दार्चुला र सुदूरपश्चिम उप क्षेत्रिय अस्पताल डडेल्धुराका साथै ती स्वास्थ्य संस्थाले सिफारिश गरेमा सूचीकृत भएका धनगढी, कोहलपुर,काठमाडौँलगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ ।

पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य रु ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सक्नेछन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भएमा रु एक लाखसम्मको सेवा पाउने प्रावधान छ ।
कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाँउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् ।
गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने तथा पैसाको अभावमा स्वास्थ्य उपचार नपाउने गरिब , बिपन्न नागरिकका लागी सरकारले २०७२ चैत २५ गते कैलालीवाट स्वास्थ्य बिमाको सुभारम्भ गरेको हो ।