विदेशी नागरिकद्वारा मावन आश्रमलाई टिभि सहित नगद सहयोग


लमजुङ ।
जिल्ला सदरमुकाम बेसीशहर स्थित मानव सेवा आश्रमलाई स्पेनका नगरिक लुइस जिमिनिजले नगद तथा टेलिभिजन सहयोग गर्नुभएको छ । उहाँले उक्त आश्रमलाई ६८ हजार रुपैयाँ बराबरको एलइडी टीभी र नगद १२ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
विगत चार बर्षदेखि लमजुङको सेवामा जोडिनु भएका लुइसले सोही आश्रममा एक कार्यक्रमको आयोजना गरी आश्रमका संयोजक अनिता अधिकारीलाई उक्त टेलिभिजन र चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण पछि आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । चार बर्षअघि नेपाल आउँदा उहाँ चण्डीडाँडाकै ह्युल्सा ह्यो गुम्बामा बस्नुभई गुम्बाका लामाहरूका लागि उहाँले ९३ हजार रुपियाँ बराबरको लामा पोषाक सहयोग गर्नुभएको थियो । स्पेन घर भएका उहाँ क्युबामा एक होटलको निर्देशकको रुपमा काम गर्दै आउएको बताइन्छ ।

त्यस्तै, उहाँले यसअघि लमजुङ बेसीशहर चण्डीडाँडाको जनविकास माध्यमिक विद्यालयलाई हालसम्म ६ लाख रुपैयाँ सहयोग गरेको सो माविका प्रअ खिला शर्माले बताउनुभयो । उहाँका अनुसार तीन बर्षअघि उक्त विद्यालयका विद्यार्थीहरूलाई पोशाक सहयोग गर्नुभएको थियो ।
सो विद्यालयलाई अब दुई लाख ४० हजार रुपैयाँ सहयोग गर्ने बताउनु भएका उहाँले तत्काल ६० हजार रुपयाँ सहयोग गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा आश्रमकी संयोजक अधिकारीले आश्रमको बारेमा जानकारी गराउनुभएको थियो । ‘साँचो जीवन निर्माण अभियान’ को व्यवस्थापनमा दुई बर्षदेखि संचालन भइरहेको मानवसेवा आश्रममा सडकमा बेवारिसे अवस्थामा भेटिएका नौ जना सडक मावन आश्रित छन् ।