भारतविरुद्ध एन्डरसनको कीर्तिमान


लन्डन, (एजेन्सी)
इंग्ल्यान्डको यात्रामा रहेको भारतीय क्रिकेट टोली दोस्रो टेस्टमा पनि इंग्ल्यान्डको सामू चल्न सकेन। भारत पहिलो इनिङमा केबल १ सय ७ रनको योगफलमा समेटियो। भारतीय ब्याट्सम्यानलाई इंग्लिस बलर जेम्स एन्डरसन, स्टुआर्ट ब्रोड र क्रिस वोक्सले धरापमा पारेका थिए। विशेष गरी एन्डरसनको बलिङ घातक बनेको थियो। फास्ट बलर एन्डरसनले २० रन दिएर ५ विकेट लिए। १३ दशमलव २ ओभरमा ५ मेडन फँ्याकेका एन्डरसनले लर्डस् मैदानमा कीर्तिमानसमेत आफ्नो नाममा लेखाए। उनले लर्डस क्रिकेट मैदानमा सर्वाधिक ९९ विकेट हात पारेको कीर्तिमान राखेका हुन्।

एकै क्रिकेट मैदानमा सबैभन्दा अधिक विकेट लिने कीर्तिमान भने श्रीलंकाका लिजेन्ड स्पिनर मुथैया मुरलीधरणको नाममा रहेको छ। उनले श्रीलंकाको एसएससी मैदानमा १ सय ६६ विकेट लिएको कीर्तिमान राखेका छन्। यो कुनै एक बलरले कुनै पनि मैदानमा लिएको सबैभन्दा बढी विकेटको कीर्तिमान हो।

त्यस्तै मुरलीधरणले यो सूचीमा शीर्ष तीनमै आफ्नो नामको कीर्तिमान रचेका छन्। मुरलीधरणले श्रीलंकाकै क्यान्डी मैदानमा १ सय १७ र गाले मैदानमा १ सय ११ विकेट लिएर एकै मैदानमा सर्वाधिक विकेट लिने सूचीमा क्रमशः दोस्रो र तेस्रो स्थान पनि हासिल गरेका छन्।

एन्डरसनको यो उपलब्धि भने उक्त सूचीको चौथो स्थानमा रहेको छ। एन्डरसनसँगै श्रीलंकाका रंगना हेराथ पनि सोही स्थानमा संयुक्तरूपमा अटेका छन्। हेराथले गाले मैदानमा ९९ विकेट प्राप्त गरेका छन्।

एन्डरसनले अर्को कीर्तिमान पनि रचेका छन्। भारतविरुद्ध टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने सूचीमा पनि उनी पहिलो स्थानमा उक्लिएका छन्। उनले पाकिस्तानका लिजेन्ड इमरान खानले भारतविरुद्ध ९४ विकेट लिएको कीर्तिमानलाई एक विकेट बढी हासिल गर्दै ओझेलमा पारेका हुन्। खान हाल पाकिस्तानका प्रधानमन्त्री बन्न गइरहेका छन्। यस्तै भारतविरुद्ध सर्वाधिक विकेट लिने सूचीमा वेस्ट इन्डिजका मार्सल (७६ विकेट), एन्डी रोबर्टस् (६७ विकेट), न्युजिल्यान्डका रिचर्ड हेडली, वेस्ट इन्डिजका कर्टनी वाल्स र दक्षिण अप्र्रिmकाका डेल स्टेनले समान ६५ विकेट लिएका थिए।

अर्को पनि कीर्तिमान

लर्डसमा जारी दोस्रो टेस्टमा जेम्स एन्डरसनले अर्को एक कीर्तिमान पनि रचेका छन्। भारतको ब्याटिङ ध्वस्त गरेका एन्डरसनले घरेलु मैदानमा ३ सय ५५ विकेट संख्या पुर्याएर घरेलु मैदानमा सर्वाधिक विकेट लिने सूचीमा दोस्रो स्थानमा पुगे। उनीपछि भारतीय स्पिनर अनिल कुम्बलेले भारतीय पिचमा ३ सय ५० विकेट हासिल गरेका थिए। उक्त सूचीको पहिलो स्थानमा श्रीलंकाका मुरलीधरण ४ सय ९३ विकेट लिएर डटिरहेका छन्।

आ–आफ्ना घरेलु पिचमा सर्वाधिक विकेट लिने सूचीमा चौथो र पाँचौं स्थानमा क्रमशः अस्टे«लियाका शेन वार्न (३ सय १९ विकेट) र ग्लेन म्याकग्राथ (२ सय ८९ विकेट) छन्।