सीपीएलमा रसेलको कीर्तिमान


लन्डन, (एजेन्सी)
एन्डे« रसेलले जमैकामा जारी टी–२० क्यारिबियन प्रिमियर लिगमा ह्याट्रिक गर्नुका साथै छिटो शतक बनाएका छन्। जमैका तलावाहसको टोलीमा रहेका रसेल १५–३ को कमजोर स्कोरमा ब्याटिङ गर्न आएका थिए। अलराउन्डरले त्रिनबागो नाइट राइडर्सले दिएको २ सय २४ रनको लक्ष्य भेटाउन सहयोग गरेका थिए। पहिलो बलमै जीवनदान पाएका उनले ४० बलमा शतक प्रहार गरे। उनले १ सय २१ रन बनाएपछि उनको टोलीले ३ बल बाँकी राखेर जित हात पारेको थियो।

यसअघि रसेलले ३८ रन दिएर ३ विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। रसेलले यसअघि पनि सो प्रतियोगितामा ४२ बलमा शतक प्रहार गरेर सीपीएलमा कीर्तिमान राखेका थिए। यसपटक उनले २ बल कम खेल्दै आफ्नै कीर्तिमान रच्ने क्रममा १३ छक्का र ६ चौका हानेका थिए। सीपीएलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले खेलिरहेका छन्।