अरहान्त र भावनाको ह्याट्रिक उपाधि


नेपाल समाचारपत्र
काठमाडौं
अरहान्त केशर सिंह र भावना सुनुवारले धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेका छन्।

शनिबार प्रतियोगिताको तेस्रो संस्करणको फाइनल खेलमा अरहान्तले चिरपरिचित प्रतिद्वन्द्वी अमृत थापामगरलाई ११–७, ७–११, ११–८ र ११–६ को सेटमा पराजित गरेका हुन्। यसै गरी महिला सिंगल्सतर्फ पनि उपाधि भावना सुनुवारले नै जितिन्। उनले फाइनल खेलमा कृष्णा थापालाई सिधा सेटमा ११–५, ११–७ र ११–१ ले सहजै पन्छाएकी हुन्। नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनकी आमा धनलक्ष्मी महर्जनको स्मृतिमा २०७३ सालदेखि सो प्रतियोगिता थालनी भएको हो। यो प्रतियोगिताको सुरुआतदेखि नै अरहान्त र भावनालाई चुनौती दिने कोही खेलाडी आउन सकेका छैनन्।

यसै गरी मास्टर्स ५० वर्षमाथि सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले दिलिपनरसिंह अधिकारीलाई ११–६, ११–८ र ११–५ ले पाखा लगाउँदै पहिलो भए। यू–१५ ब्वाइज सिंगल्समा विकास मगरले स्वर्ण जिते। उनले फाइनलमा सलिम थापा मगरलाई ११–४ र ११–५ को सोझो सेटमा निराश पारे। सोही स्पर्धाको गल्र्समा सपना ब्लोन च्याम्पियन बनिन्। फाइनलमा सपनाले मुस्कान राउतको चुनौती ११–४ र ११–३ ले समाप्त पारिन्।

यू–१९ ब्वाइज सिंगल्स फाइनलमा अमिर ब्लोनले विजय मगरलाई ११–९, ११–३ र ११–३ को सिधा सेटमा पाखा लगाउँदै शीर्ष स्थान हात पारे। पुरुष सिंगल्सको प्लेटतर्फ अमिर ब्लोन पहिलो भए। उनले फाइनलमा स्टिभ फ्रान्सिसलाई १२–१०, ११–९, ६–११ र ११–८ को सेटमा पन्छाए। पाँचदिने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ६ रूपियाँ रहेको छ।