बजेट वितरणमा कसैलाई पनि विभेद गरेको छैनः मन्त्री पण्डित


भक्तपुर ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुरानो संरचना छाडेर नयाँ संरचनामा जाँदा आउने समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरको दोश्रो जिल्लासभामा उहाँले प्रदेश र स्थानीय सरकारले नयाँ व्यवस्था तथा संरचनामा आउने समस्यालाई अरुलाई भन्दै हिड्ने भन्दापनि समाधान गर्नेतर्फ लाग्नुपर्छ भन्नुभयो ।

मन्त्री पण्डितले नयाँ संरचनामा जाँदा पुरानो छोड्न पनि नसक्ने र पुरानो छोड्न नसक्दा नयाँलाई सहज रुपमा लिन पनि नसक्ने प्रवृत्तिले समस्या आएको उल्लेख गर्दै नयाँ संरचना अनुरुप अगाडि बढेमा समस्या नआउने बताउनुभयो ।

पहिलाको व्यवस्थालाई काँचो ईटाको पुरानो घर र अहिलेको व्यवस्थालाई पक्की ईटाको नयाँ घरको संज्ञा दिँदै उहाँले भन्नुभयो, “हिजो काँचो ईटाको घर थियो, अहिले पक्की घर बनाउँदै छौ, पुरानो घरबाट नयाँ बनाएर सर्दा जस्तो अवस्था आउँछ, अहिले त्यस्तै परिस्थिति छ ।”

मन्त्री पण्डितले संविधानले दिएको अधिकारभित्र बसेर तीन वटै तहको सरकार सञ्चालन हुनुपर्छ भन्दै कतिपयले नपाएको अधिकार प्रयोग गर्ने, कतिपयले पाएको अधिकार पनि पुगेन भन्ने, कतिपय पाएको अधिकार पनि धेरै भो भन्ने कतिपय अझै अलमल मै परेको धारणा व्यक्त गर्नुभयो ।

बजेट वितरणमा सरकारले कसैलाई पनि विभेद नगरेको उल्लेख गर्दै उहाँले सरकारले मापदण्ड बनाएर बजेट बाँडफाँड गरेकाले भेदभाव नभएको स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जिल्ला समन्वय समितिलाई अधिकार बिहिन बनाएर राख्न नहुने बताउँदै बजेट र अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं। ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतले भक्तपुरको विकास र समृद्धिका लागि सबै नगरपालिका मिलेर ठूलठूला एकिकृत योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकालाई सम्मान गरेको छ भने उत्कृष्ठ कर्मचारीलाई पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रममा जिसस प्रमुख नवराज गेलालले जिल्लाको विभिन्न कार्यक्रम एवं योजनाहरु प्रस्तुत गर्दै जिल्ला समन्वय समितिलाई अधिकार र बजेट नदिँदा निकै समस्या झेल्नु परेको गुणासो गर्नुभयो ।
रासस