४ दिनसम्म खोज्दा पनि भेटिएन बेपत्ता विद्यार्थी, गोताखोर टोली फर्कियो


बुद्धवीर बाहिङ राई, सोलुखुम्बु ।
गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ विद्यार्थीमध्ये २ जनालाई ४ दिनसम्म खोज्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली फर्किएको छ । गत बुधबार विहानदेखि हिमतालमा खोजी गरेको गोताखोर टोलीले २ घण्टापछि पेम्बानोर्बु शेर्पाको शब भेट्टाए पनि बाँकी २ जना विद्यार्थीलाई ४ दिनसम्म खोज्दा पनि नभेटेपछि गोताखोर टोली फर्किएको हो ।
उच्च हिमाली क्षेत्रमा हिमतालको पानीभित्र गएर खोजीकार्य गर्नुपर्ने भएकाले ४ दिनसम्म लगातार रुपमा खोजीकार्य गर्दा गोताखोर टोलीका सदस्यलाई चिसोका कारण समस्या भएको थियो । अत्याधिक चिसोका कारण गोताखोर टोलीको स्वास्थ्यमा देखिएको समस्या र प्रतिकुल मौसमका कारण खोजीकार्यलाई बन्द गरी गोताखोर टोली फर्किएको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।
खोजीकार्यमा सशस्त्र प्रहरी बलको २ गोताखोर सहित ५, नेपाली सेनाका ५, नेपाल प्रहरी ५ र स्थानीय जनप्रतिनिधी एवं स्थानीय १६ गरी ३१ जनाको टोलीले लगातार ४ दिनसम्म गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजीकार्य गरेको थियो । खोजीकार्यमा संलग्न टोलीले ५ दिनपछि पुनः २ बेपत्ता विद्यार्थी पेम्बादोर्जी शेर्पा र सुनिल बराईलीको खोजी गर्ने पनि वडा अध्यक्ष अधिकारीले बताए ।
खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ का विद्यार्थी साउन १८ गते शैक्षिक भ्रमणमा गोक्यो क्षेत्र गएका थिए । १९ गते गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा डुबेर ३ जना विद्यार्थी बेपत्ता भएका थिए । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको अनुमतिविनै शैक्षिक भ्रमणमा लगेको भन्दै २ शिक्षक छुङजिङदोर्जे शेर्पा र रञ्जित बललाई विव्यासको बैठकले निलम्बन गरिसकेको छ ।