जनजातिको कला संस्कृति पर्यटकका लागि आकर्षकः मन्त्री थापा


काठमाडौँ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आदिवासी जनजातिको कला संस्कृति पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु भएको बताउनुभएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघद्वारा प्रकाशित ‘नेपालमा आदिवासी जनजाति महिलाको आर्थिक सशक्तीकरणको अवस्था’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले भन्नुभयो, “आदिवासी जनजातिको परम्परागत कला संस्कृतिको संरक्षणमा सरकारले विशेष चासो दिनुपर्छ ।”

मन्त्री थापाले नेपाललाई विश्वमा नै चिनाउने हाम्रो कला, संस्कृति र वेषभूषालाई राज्यको सम्पत्तिका रुपमा लिनुपर्ने उल्लेख गर्दै आदिवासी जनजाति महिलाको सशक्तीकरणका लागि सरकार पूर्णप्रतिवद्ध रहेको छ भन्नुभयो ।

डा कृष्णबहादुर भट्टचन, कमला थापा, नन्द कन्दङ्गवा, अधिवक्ता अमृता थेबे र राजु थापामगरले लेख्नुभएको उक्त पुस्तकमा आदिवासी जनजाति महिलाको आर्थिक अवस्थाका बारेमा विश्लेषण गरिएको छ ।

पुस्तकमा माझी, राउटे, थकाली, थारु र याख्खो समुदायका महिलालाई आर्थिकरुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा जोड दिएको छ ।

सो अवसरमा आदिवासी जनजातिका कला संस्कृति झल्कने तस्वीरसमेत प्रदर्शनी गरिएको थियो ।
रासस