वीरगन्ज महानगरमाः एउटा काम नसक्दै अर्कोलाई जिम्मा



कृष्णउदास खनाल, वीरगन्ज ।
मझौला शहर एकीकृत वातावरण सुधार आयोजना अन्तर्गत तीन सय करोडको वीरगन्ज महानगरमा पचास किलोमिटर नाला र आठ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न बाकी नै रहदा क्षेत्रीय शहर विकास आयोजनाले दुई सय चौंतीस करोड खर्चमा नाला र बाटो बनाउने काम पुनः पाएको छ ।

क्षेत्रीय शहर विकास आयोजना अन्तर्गत एडिबी र नेपाल सरकारको ९३.८ प्रतिशत लगानी छ भने वीरगन्ज महानगरको ६.२ प्रतिशत लगानी रहने छ । यस अघि मझौला शहर एकीकृत वातावरण सुधार आयोजना अन्तर्गत एडिबी र नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ र वीरगन्ज महानगरको ८ प्रतिशत लगानी थियो ।तीन सय करोडको लगानीको आयोजनाको काम ८० प्रतिशत सकिएको भए पनि ९४ प्रतिशत सम्पन्न भएको व्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताउछन् ।

दोस्रो आयोजनाको काम शुरु गर्ने तयारी भइरहेको छ । क्षेत्रीय शहर विकास आयोजना अन्तर्गत वर्षायामपछि शुरु हुने नाला र सडक २०–२० किमी रहेको व्यवस्थापक श्रेष्ठले जानकारी गराए । उनले यस अघि चारकुना आकारमा ढलान नाला निर्माण भए पनि नयाँ आयोजनामा ह्युम पाइप प्रयोग हुने बताएका छन् । ढलान नाला निर्माणमा एक महिना अवधि लाग्ने तर ह्युमपाइप जडान छिटोछरितो हुने देखिएकोले आयोजनामा ह्युम पाइप प्रयोग हुने बताए ।
दोस्रो आयोजना बाइपास सडक मुर्ली, राधेमाई, भिस्वा र कन्या मावि क्षेत्रमा सञ्चालन हुनेछ । यो आयोजना पनि चौबीस महिनामा पूरा गर्ने गरी कालिका कन्स्ट्रक्शनले ठेक्का पाएको छ ।

प्रतिक्रिया दिनुहोस्