प्रस्तावित रंगशालाविरुद्ध उत्रिए भक्तपुरबासी


नेपाल समाचारपत्र
भक्तपुर
भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रंगशालाको विरोधमा भक्तपुरबासी एक भएका छन्।

कृषिका लागि निकै उपयोगी मानिएको भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालमा बनाउने भनेर प्रस्ताव भएपछि सो क्षेत्रका स्थानीयबासी विरोधमा उत्रिएका हुन्।

सो क्षेत्रका स्थानीय तथा किसानहरूलाई उठिबास गराउन रंगशाला बनाउन लागिएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न गठन भएको रंगशाला निर्माण पीडित संघर्ष समितिले शुक्रबार सूर्यविनायक नगरपालिका, नगर विकास प्राधिकरण र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विरोधपत्र बुझाए।

‘युवा तथा खेलकुदमन्त्रीको निर्देशनमा सूर्यविनायक नगरपालिका वडा नं १०, भकारी मूलमा करिब एकहजार रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने कुराले हामी आतंकित भएका छौं। हामीले चुनेर पठाएका वडाध्यक्षदेखि सांसदसम्मले हामीलाई उठिबास गराउन खोजेको छ त्यसकारण हामी विरोधमा उत्रिएका हौं।’ –संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भकारी मूलका एक स्थानीयले भने।

उनीसँगै विरोध कार्यक्रममा सहभागी सरीता देउजाले पनि जनताको गाँस, बास र कपास, घरखेत सबै खोस्ने गरी रंगशाला बनाउन लागिएको थाहा भएपछि आफूहरू निक्कै तनावमा रहेको बताइन्। ‘जनताको भएको खेतीयोग्य जमिन र घरलाई विस्थापित गरेर विकासको नाममा विनास गर्न खोजेको छ। यस्तो कार्यले हामी जनतालाई सह्य हुँदैन।’ –उनले भनिन्।

विरोधमा आएका उनीहरूमध्ये स्थानीय रघुवीर कार्कीले सूर्यविनायक नगरपालिका वडा नं १० का वडाध्यक्ष शिवराम राउतले जनतालाई थाहा नै नदिई जनता अल्मल्याउने काम गरेको बताए। उनले भने– ‘केही निश्चित भू–माफियाको हितका लागि हामी सयौं जनताको चाहनाविपरीतको काम गरी हामीलाई दुःख दिने काम हुन लागेको छ। एकदुईजना सांसदको लहडमा रंगशाला बनेकाले हामी पनि त्यसको प्रतिकार गर्छौं।’

विरोधमा आएका उनीहरूले आफ्नो ठाउँमा रंगशाला बनाउने विषयमा वडाध्यक्ष र जनप्रतिनिधिले एकपटक पनि छलफल नगरी पक्षपातपूर्ण काम गरेको आरोप पनि लगाएका थिए। उनीहरूले मन्त्री, सांसददेखि वडाध्यक्षसम्मले जबरजस्ती तथा जन चाहनाविपरीत काम गरेको खण्डमा जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताएका थिए।

संघर्ष समितिका संयोजक शिवशरण कार्कीले रंगशाला निर्माण गर्न गठित कार्यदलको काम तत्काल खारेज गर्न माग गरेका थिए। त्यतिमात्र नभएर उनले गत १८ गतेको निर्णयमा कित्ताकाट, नक्सापास रोक्का गरेको विषयलाई पनि तत्कालै खारेज गर्न माग गरे।

विरोधमा आएका उनीहरूले चित्तपोलको भकारी मूलमा रंगशाला बने ५ सयदेखि एकहजार घरधुरी विस्थापित हुने तथा १५ सयदेखि २ हजार जनताको खेतीयोग्य जमिन विनाश हुने बताए।