सन्दीपले लिए २ विकेट


नेपाल समाचारपत्र
काठमाडौं
क्यारेबियन प्रिमियर लिग (सीपीएल) को पहिलो खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन्।

लिगअन्तर्गत दोस्रो खेलमा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्स गुयना एमाजोन वारियर्ससँग ६ विकेटले पराजित भएकामा सन्दीपले व्यक्तिगतरुपमा सफल बलरमा उभ्याएका हुन्। आफ्नो टिमका लागि कसिलो बलिङ गरेका सन्दीप सबैभन्दा किफायती बलर साबित भए। उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिन केबल १२ रन खर्चेका थिए। इन्डियन प्रिमियर लिग र क्यानाडियन प्रिमियर लिगमा खेलिसकेका सन्दीपले बलिङ गरेको पहिलो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले गुएना अमेजन वारियर्सका ओपनर चाडविक वाल्टनलाई बेन किटङको हातबाट क्याचआउट गराउँदै सीपीएलमा शानदार सुरुआत गरे। पहिलो ओभरमा ३ रन खर्चेर १ विकेट लिएका सन्दीपले दोस्रो ओभरमा मात्र १ रन खर्चिए।

सन्दीपले आफ्नो तेस्रो ओभरमा ४ रन खर्चिए भने चौथो ओभरमा दोस्रो विकेट लिँदै सनसनी मच्चाए। उनले दशौं ओभरको दोस्रो बलमै गुएना अमेजन वारियर्सका जासोन मोहमम्दलाई टम कुपरको हातबाट क्याचआउट गराए। चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिएका थिए।