नेपाली फुटबल फेरि हार्यो


नेपाल समाचारपत्र
काठमाडौं
थाइल्यान्ड यात्रामा रहेको नेपाली फुटबल टोलीले दोस्रो अभ्यास खेलमा हार बेहोरेको छ। शुक्रबार भएको मैत्री खेलमा नेपाली यू–२३ फुटबल टोलीले थाइल्यान्डको यू–२३ फुटबल टोलीसँग ४–० को हार आत्मसात गरेको हो। यो नेपाली टोलीको यात्रामा दोस्रो हार थियो। यसअघि पहिलो अभ्यास खेलमा नेपाली युवा टोलीको थाइल्यान्डको ‘ए’ डिभिजन क्लब पुलिस टेरोसँग १–० को हार भएको थियो।

यो दुई नकारात्मक नतिजापछि नेपालको इन्डोनेसियाको यात्रा पनि कठिन हुने संकेत देखाएको छ। नेपाली यू–२३ टोलीले एसियाडमा समूह ‘डी’ अन्तर्गत खेलमा जापान, भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। सो समूहमा नेपालले एक खेल मात्रै बराबरीमा टुंग्याए पनि त्यो ठूलो उपलब्धि हुनेछ। तर यी दुई खेलमा हारेपछि जापानी प्रशिक्षक कोजु र नयाँ प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपाली युवा टोलीले इन्डोनेसियामा राम्रो गर्नेमा सन्देह नै छ।

वैसाख २२ गते नयाँ नेतृत्व एन्फामा आए पनि नेपाली फुटबलको हालत ज्यूँका त्यूँ नै रहेको छ। त्यसो त रातारात परिवर्तन हुने त होइन तर थाइल्यान्डमा नेपाली फुटबलको हविगतले नेपाली फुटबल कतातिर गइरहेको छ भन्ने प्रस्ट्याएको छ। लिग नहुने र राम्रो अभ्यास नहुनुका कारण नेपाली फुटबल अहिले शून्यमा रहेको छ। विगत ४ वर्ष एन्फा नेतृत्वको पनि यसमा बराबरी दोष रहेको छ।

रेलिगेसनबिनाको लिग नै सही

लिग सञ्चालन नभएको नै करिब ५ वर्ष भएको छ। कर्मा छिरिङ शेर्पाको अध्यक्षमा नयाँ नेतृत्व आउनासाथै एन्फाले लिगलाई महत्व दियो। तर एन्फाको यो निर्णय महत्वहीन योजनासँग दाँज्न सकिन्छ। लिग सञ्चालन गर्ने भनेर मिति तोकियो तर लिग कस्तो भने रेलिगेसन नहुने खालको हुनेछ। यस्तोमा लिगको महत्व हुँदैन। यसको बावजुद एन्फाले रेलिगेसन नहुने लिगको सुरुआत सकारात्मक भएको पनि दाबी गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता किरण राईले लिग गर्न बाध्य रहेको बताएका छन्। उनले भने– ‘रेलिगेसनबिनाको लिग गर्न हामी बाध्य छौं। क्लबहरूले पनि खेल्ने सहमति गरेका छन्। फिफा र एएफसीसँग पनि कुरा गरेका छौं।’

शाक्यसँग छलफल

यस्तैमा नयाँ नेतृत्वमा रहेको एन्फाको अर्को एउटा विवाद पनि अहिले चर्चामा छ। त्यो हो पूर्वप्रशिक्षक राजुकाजी शाक्यलाई बिना सूचना हटाइएको बारे। सञ्चारमाध्यमले बिना सूचना हटाएको भन्दै समाचार सम्पे्रषण गरेपछि एन्फाले शाक्यसँग हिजै छलफल गरेको छ। नयाँ नेतृत्वको एन्फाले शाक्यको स्थानमा बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ।

एन्फाका प्रवक्ता राईले यसबारे बताए– ‘हामीले उहाँ (राजुकाजी शाक्य) लाई प्रशिक्षक पदबाट हटाएका होइनौं। केबल जिम्मेवारी हेरफेर मात्रै भएको हो। उहाँ र एन्फाबीच केही ग्याप भएको अवस्थामा यस्तो भ्रामक समाचार बन्न पुग्यो। छलफल भएको छ, उहाँ कुनै न कुनै जिम्मवारीमा रहनु हुनेछ। उहाँको निर्णय साउन ३० गते हुने एन्फाको विशेष साधारण सभापछि मात्रै हुनेछ।’

शाक्यले नेपालले १९९३ मा दक्षिण एसियाली खेलकुदअन्तर्गत फुटबलमा स्वर्ण जित्दा खेलाडीका रुपमा थिए। उनी नेपाली टोलीका कप्तान थिए। यसपछि प्रशिक्षकका रुपमा शाक्यले नेपाललाई ठूलो उपाधि दिलाए। २ वर्षअघि नेपालले एएफसी सोलिडारिटी कप जित्दा शाक्य प्रशिक्षक थिए। उनकै प्रशिक्षणमा नेपाली यू–२३ टोलीले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदअन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो।

पूर्वउपाध्यक्षद्वारा विज्ञप्ति बुझाइयो

एन्फाका पूर्वउपाध्यक्ष मणि कुँवरले शुक्रबार नै खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई हालको नेतृत्वमा रहेको एन्फाविरुद्ध विज्ञप्ति बुझाएका छन्। कुँवर वैशाख २२ गते सम्पन्न एन्फा चुनावमा अध्यक्षको पदमा लडेका थिए। सो चुनावलाई विधि विधानविपरीत भन्दै आएका कुँवरले बुझाएको विज्ञप्तिमा ५ बुँदा समावेश गरिएको छ। जसमा रेलिगेसनबिनाको लिगले नेपाली फुटबल धरासयी हुने, विदेशी नागरिक नवीन पाण्डेलाई फिफा विश्वकपमा झण्डा बोक्न दिएको, रुसमा भएको विश्वकपका लागि ल्याइएको टिकटबारे कसैलाई जानकारी नगराएको, आगामी साउन ३० गते साधारण सभा विधि विधानविपरीत हुन लागेको र सरकारले निर्णय नगरेको अवस्थामा एन्फाले प्रदेशमा मनोमानी संरचनामा गएर एकलौटी गर्न खोजेको एन्फामाथि कुँवरले आरोप लगाएका छन्।