बेचबिखनका घटना बढ्दै, एक वर्षमा २७९ किशोरीको उद्धार


सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुमा कार्यरत संघसंस्थाले एक वर्षको अवधिमा २सय ७९ किशोरीलाई बेचिनबाट जोगाएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत शान्ति पुनस्र्थापना गृह र केआई नेपालले आर्थिक वर्ष २०७४।०७५ मा ती किशोरीहरुलाई उद्धार गरेका हुन् । गतवर्ष कपिलवस्तुमा कार्यरत संस्थाहरुले सीमा नाका तथा भारतबाट २३५ किशोरीहरुको उद्धार गरेका थिए । तर यसवर्ष थप ४४ गरी २७९ युवतीहरुलाई उद्धार गरेको तथ्यांक सार्वजनिक गरेका छन् ।
गतवर्ष १२९ युवतीको उद्धार गरेको शान्ति पुनस्र्थापना गृहले यसवर्ष १५२ युवतीको उद्धार गरेको छ । भने केआई नेपालले गतवर्ष १०६ युवतीको उद्धार गरेकोमा यसवर्ष १२७ युवतीलाई आफन्तको जिम्मा लगाउन सफल भएको छ । गतवर्षको तथ्यांक हेर्दा मानव बेचविखन तथा ओसारपसारको घटना अझ बढ्दै गएको देखिन्छ । तर मानव बेचविखन विरुद्ध कार्यरत संघसंस्थाहरुले बेचबिखन तथा ओसारपसारका घटना रोक्न हरप्रयास गरेको दाबी गरेका छन् । सोझासाझा किशोरीहरुलाई बैदेशिक रोजगारीको प्रलोभन देखाई विचौलियाले भारततर्फ लैजाने क्रममा भारत तथा सीमाक्षेत्रबाट ती नेपाली किशोरीहरुलाई उद्धार गरी घर फर्काउन सफल भएको उनीहरुले जनाएका छन् । जिल्लाको कृष्णनगर सीमा क्षेत्रमा झण्डै एक दशकदेखि ती संघसंस्थाहरुले मानव बेचविखन, ओसारपसार तथा लैङ्गिक हिंसा विरुद्ध २४सै घण्टा सीमा निगरानी गर्दै आएका छन् ।
अभिभावकको सल्लाहविना बैदेशिक रोजगारी वा विवाहको नाटक देखाई गैर कानुनी रुपमा किशोरीहरुलाई विचौलियाले भारत तथा तेस्रो मुलुक छिराउने गरेको संघसंस्थाहरुको प्रतिबेदनमा उल्लेख छ । शान्ति पुनस्र्थापना गृहको वार्षिक प्रतिबेदन अनुसार ३ हजार २ सय ५६ किशोरीलाई परामर्श दिएको छ । बेचबिखनमा परेकामध्ये ५ युवतीले बेचबिखन तथा ओसारपसार विरुद्ध प्रहरीमा मुद्धा दायर गरेका छन् । उद्धार गरिएकामध्ये ८२ जनालाई संस्थामार्फत परिवारको जिम्मा लगाएको संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । यस्तै ६८ जना किशोरीहरुलाई प्रहरीको जिम्मा लगाई सोधपुछपछि आफन्तलाई बुझाएको र दुई जनालाई पुनस्र्थापना केन्द्रमा राखी विभिन्न सीपमूलक कार्यमा लगाइएको संयोजक भट्टराईले जनाउनुभयो ।
मानव बेचबिखन मुक्त समाज निर्माणको परिकल्पना बोकी विगत एक दशकदेखि केआई नेपालले कृष्णनगरमा रही सीमा निगरानी गर्दै आएको छ । आर्थिक वर्ष २०७४।०७५ मा कृष्णनगर सीमानाका हँुदै भारततर्फ जाने २हजार बढी महिला तथा बालिकाहरुलाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । केआई नेपालले उद्धार गरिएका १२७ चेलीहरुमध्ये १४ जनालाई सुरक्षित आवास गृह चितवन पठाइएको विश्वकर्माले बताउनुभयो । आवास गृहमा चेलीहरुलाई जीवनप्रति सकारात्मक आशाहरु जगाई जीवन जीउन सक्षम र सबल बनाउन आयमूलक र नेतृत्वविकास कार्यक्रममा सहभागी गराएको विश्वकर्माको भनाई छ । नेपाल प्रहरीको सहयोगमा बिभिन्न समयमा बिचौलियाहरु नियन्त्रणमा लिई कानुनी दायरामा समेत ल्याएको उहाँले बताउनुभयो ।
जिल्लाको कृष्णनगर क्षेत्रमा कार्यरत संघसंस्थाहरु सीमा नाका, लिङ्कगेट र यात्रुगेटमा बिहानदेखि बेलुकासम्म सीमा निगरानीमा सक्रिय छन् । मानव बेचविखनका घटनामा न्यूनीकरण ल्याउन इलाका प्रहरी कार्यालय कृष्णनगर, अस्थायी प्रहरी चौकी लिंकगेट र सशस्त्र प्रहरीको पूर्ण सहयोग रहेको दुवै संस्थाका प्रमुखहरुले बताएका छन् ।