सरोज यादव, विराटनगर
विगत सात वर्षदेखि डोरीले बाँधिएर बस्न बाध्य विराटनगरका बालक अर्जुन कालाखेतीको उपचारका लागि विभिन्न संघसंस्थाले पहल गरेका छन् ।
कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसक्दा बौद्धिक अपांगता भएका अर्जुनलाई उनका अभिभावकले विगत सात वर्षदेखि डोरीले बाधेर राख्ने गरेका थिए ।
अहिले भने विभिन्न संघसस्थाहरुले उनको उपचारका लागि पहल गरेका छन् । १४ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी विराटनगर–५ की कमला कालाखेतीको दुःख सानो छैन । कमजोर आर्थिक अवस्था त्यसमा पनि श्रीमानको मृत्युपछि कमलालाई ठूलो संकट आइपरेको छ ।
जेठो छोरो अर्जुन बौद्धिक अपांगता भएका कारण कमलाले उनलाई खाटको खुट्टामा सांग्लोले बाँधेर राख्ने गरेकी थिइन् । अहिले बालबालिकाको क्षेत्रमा बकाम गर्ने क्यापेबल विराटनगरले अर्जुनको उपचारका लागि पहल सुरु गरेको छ ।
क्यापेबल विराटनगरकी अध्यक्ष सरु केसीको पहलमा यतिबेला अर्जुनको उपचार सुरु भएको छ । बालकको उपचारमा संलग्न विराटनगर अस्पतालका डाक्टर हेमसागर रिमालले उनमा कान नसुन्ने र खुट्टामा समस्या रहेको बताउनुभयो ।
अन्य मानिस जस्तो सामान्य अवस्थामा आउन नसके पनि उपचारपछि अहिलेको अवस्थामा भन्दा केही सुधार भने हुन सक्ने उहाले बताउनुभयो । अर्जुनको उपचारका लागि क्यापेबलले सहयोग गर्ने जनाएको छ । साथै कमलालाई स्वरोजगार बनाउन आफूले सहयोग गर्ने अध्यक्ष केसीले बताउनुभयो । कमलाका श्रीमान राजेन्द्रको एक महिनाअघि क्यान्सरबाट मृत्यु भएको थियो ।
श्रीमानको उपचारमा जुट्नु पर्दा आफूले गर्दै आएको काम पनि छुटेको र श्रीमानको पनि मृत्यु भएपछि कमला र उनका दुइ छोराको अहिले बिचल्ली भएको थियो । छोराको अवस्थाले आफू काममा जान पनि नपाउने, काममा गए छोराको बिजोक भएपछि कमलाले संघसस्थालाइ अर्जुनको छोरा संरक्षण गरिदिन अनुरोध गरेकी थिइन् ।











प्रतिक्रिया