सरिता चलाउने, सल्यान।
पश्चिम सल्यानको कालिमाटी गाउँपालिकामा सडक तथा टेलिफोन सेवा बन्द भएको छ । नेपाल टेलिकमको नमस्ते फोन सेवाले मात्रै काम गर्ने कालिमाटीमा दुई महिनादेखि सेवा अवरुद्ध छ ।
साथै सदरमुकाख र छिमेकी जिल्ला दाङ जोड्ने सडकहरु समेत बन्द भएपछि गाउँपालिकाको वाहिरि सम्पर्क रोकिएको छ ।
यातायात सेवा तथा सञ्चार सेवा बन्द भएपछि यस क्षेत्रका बासिन्दा प्रभावित भएको स्थानीय कुलप्रसाद भण्डारीले जानकारी दिए । ‘गाउँपालिकामा नमस्तेबाहेक अरु टेलिफोनले काम गर्दैन त्यही नमस्ते पनि दुई महिनादेखि नियमित छैन यसले समस्या पारेको छ,’ भण्डारीले भने, ‘लगातारको वर्षाले सदरमुकाम जोड्ने सडक तथा दाङदेखि सुर्खेत सडक पनि बन्द छ ।’
टेलिफोनको समस्याका बारे बारम्बार नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि सुनुवाई नभएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।
कालीमाटी गाउँपालिकाका एक नम्बर वडा वाहेक सबै छ वडामा अहिले टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष केसीले जानकारी दिए । ‘टावरमा खराबी आएको कुरा लिखित रुपमै टेलिकमलाई जानकारी गराएर सुनुवाई नभएपछि मन्त्रालयसम्म पनि पुग्यौं । तर सुनुवाई भएन,’ अध्यक्ष केसीले भने ।
लगातारको वर्षाले सडक अवरुद्ध भएकोमा त्यसलाई खुलाउन पहल भइरहेको अध्यक्ष केसीको भनाइ छ । सडक खुलाउन प्रयास भइरहेको छ लगातार अविरल वर्षा भइरहेको छ ।
यसैगरी यातायातका साधन सञ्चालन हुन नसकेपछि प्रसूति गराउन स्वास्थ्य चौकीमा बोकेर लैजानुपर्ने बाध्यता रहेको स्थानीय पलबहादुर केसीले बताए । ‘यातयातका साधन सञ्चालन छैनन् प्रसूति गराउन महिलालाई घण्टौँ हिँडेर स्वास्थ्यचौकीमा लैजानुपर्ने बाध्यता रहेको छ,’ उनले भने ।
स्वास्थ्य चौकीमा उपचार हुन नसकेका बिरामीलाई उपचारका लागि दाङको बगालेसम्म १५ किलोमिटर बोकेर पु¥याउनु पर्ने बाध्यता रहेको केसीको भनाइ छ ।











प्रतिक्रिया