‘वन संरक्षणमुखी मात्रै बन्यो’

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं । नेपालको सामुदायिक वनको अभ्यास विश्वकै लागि सफल मोडल मानिएपनि वनबाट मुलुकले आर्थिक समृद्धि हासिल हुन नसकेको वनकर्मीहरुले स्वीकारेका छन् । वन संरक्षणमुखी मात्रै हुँदा राज्यले प्रतिफल प्राप्त गर्न नसकेको उनीहरुको ठहर छ ।

वन ऐन संशोधनको प्रकृयामा रहेकाले आगामी दिनमा वन संरक्षित मात्रै नहुने, संशोधित ऐनले आर्थिक समृद्धिका धेरै ढोका खुला गर्ने वनकर्मीहरुको विश्वास छ ।

सामुदायिक वन दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागमा आयोजित छलफलमा बोल्दै विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालले भन्नुभयो–‘वन मुलुकको समृद्धिसँग जोडिनुपर्छ, संशोधित ऐनले पक्कै पनि यो कुरा सुनिश्चित गर्छ ।’

विगतका कार्यको समिक्षा र कमिकमजोरी औल्याउँदै सरोकारवाला निकाय वीच गतिलो हातेमालो भएको खण्डमा उपभोक्ता र राज्यले वनबाट ठूलो लाभ लिने उहाँको भनाई थियो ।

सामुदायिक वनबाट अपेक्षा अनुसार राज्य र अन्य निकायले आर्थिक उपलब्धी हासिल गर्न नसक्नु राज्यकै कमजोरी भएको सामुदायिक वन महाशाखा प्रमुख डा. अनुज शर्माले बताउनुभयो ।

विभिन्न भेगका ३ सय भन्दा बढी सामुदायिक वनमा बैज्ञानिक वन व्यवस्थापनको अभ्यास शुरु भएपनि वन व्यवस्थापन नेपालका लागि सिकाईकै चरणमा रहेको उहाँको तर्क थियो ।

मुलुकभर २२ हजार २ सय ६६ सामुदायिक वन छन् । यो अभ्यासमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी प्रत्यक्ष÷अप्रत्यक्ष आवद्ध भएका विभागको तथ्यांक छ ।

यसैवीच यस वर्षको सामुदायिक वन आज शुक्रवार ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ भन्ने नाराका साथ विविध कार्यक्रमका साथ मनाइदैछ । दिवसका अवसरमा विभिन्न वन समुह र व्यक्ति पुरस्कृत हुँदैछन् । सामुदायिक वनका अभियन्ताद्धय काठमाडौंका सन्तोष विक्रम शाह र मोरङका आनन्द सागर तिमल्सेनालाई विभागले सम्मान गर्दैछ ।

गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट अँधेरी छरछरे सामुदायिक वन पाल्पा, धिरीखोला वन अर्घाखाँची र विरपुर जनकल्याण वन कपिलवस्तु सामुदायिक वन उपभोक्ता समुह पुरस्कृत हुँदैछन् ।

प्रथम, द्धितिय, तृतीय पुरस्कार क्रमशः १ लाख, ७५ हजार र ५० हजार राशीको हो । त्यसैगरी हरियाली सामुदायिक वन मोरङ र धुसेरी सामुदायिक वन उपभोक्ता समुह नवलपरासीलाई ५०÷५० हजार राशीको सान्तवना पुरस्कारबाट पुरस्कृत गरिदैछ ।

कवुलियती वन राष्ट्रिय पुरस्कारबाट ठाडो नागी कवुलियती वन पाँचथर, सितलपोखरी वन समुह नवलपरासी र हार्वुङ्गदीप वन समुह प्यूठान क्रमशः १ लाख, ७५ हजार र ५० हजार राशीको पुरस्कारबाट पुरस्कृत हुँदैछन् ।
त्यसैगरी निजी वन राष्ट्रिय पुरस्कारबाट गौरादह झापाका दुर्गा प्रसाद प्रसाई, मुकुन्द पाण्डे टिकापुर कैलाली, सूर्योदय नगरपालिका इलामका रघुनाथ तिम्सिना, अंशु÷युयुत्सु वञ्जारा विराटनगर र खोटाङको रुपाकोट मझुवगडी नगरका सिताराम राई छनोट हुनु भएको छ ।

सो पुरस्कारको राशी क्रमशः ७५ हजार, ५० र ३० हजार हो । सान्तवना पुरस्कार १५÷१५ हजार रुपियाँको हो । दिवसकै अवसरमा ५५ हजार ५ सय ५५ रुपियाँ राशीको साझेदारी वन राष्ट्रिय पुरस्कारबाट कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समुह पुरस्कृत हुँदैछ । विभागले सञ्चारकर्मीद्धय अब्दुल्लाह मियाँ र कोकिला भण्डारीलाई २५÷२५ हजार राशीको सामुदायिक वन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दैछ ।