वेगमा पदमार्ग निर्माण


बेनी ।
रघुगङ्गा गाउँपालिका–१ वेगमा पदमार्ग निर्माण गरिएको छ ।

बेग–बाँदुक जोड्ने झोलुङ्गे पुलदेखि वेगको देउराली पुग्ने बाटामा पक्की पदमार्ग बनाइएको हो । झोलुङ्गे पुल रहेको काउलेदेखि ठूलो गाउँ हुँदै वडा कार्यालय रहेको देउरालीसम्म पदमार्ग निर्माण गर्ने योजनाअन्तर्गत यस वर्ष ७०० मिटर पक्की पदमार्ग निर्माण गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभयो ।

वडा कार्यालयले आव २०७४÷७५ का लागि सो योजनामा गाउँपालिकाबाट रु ४८ लाख विनियोजन गरेको थियो । सो बजेटबाट वडा कार्यालयले खोप केन्द्र भवन निर्माणका लागि रु दुई लाख खर्च गरी स्थानीयवासीबाट श्रमदान जुटाएर पदमार्ग निर्माण गरेको हो । “पर्यटक भित्र्याउने लक्ष्यका साथ पुराना गोरेटोबाटोलाई आकर्षक पदमार्गमा रुपान्तरण गर्न लागेका छौँँ, पदमार्गको काम अझै बाँकी छ, गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, फगामीले भन्नुभयो ।

सिँढी चिनेर ढलान गरिएको सो पदमार्गमा रेलिङ निर्माण गर्ने योजना छ । चालू आवमा गाउँपालिकाले विनियोजन गरेको रु चार लाख ५० हजारमा ६० मिटर रेलिङ निर्माण गरिएको छ । नेपालकै लामो पुल भएकाले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग, चौतारी, खानेपानीको धारा, प्रतीक्षालयलगायत पूर्वाधार निर्माण गर्न थालिएको छ ।

अहिले झोलुङ्गे पुलको छेउमा चौतारो निर्माण भइरहेको छ । प्रतीक्षालय र खानेपानीको कामसमेत भइरहेको छ । पदमार्गको बीचमा स्थानीयवासी हिमलाल गर्बुजाको स्मृतिमा उहाँको परिवारले चौतारो निर्माण गरिरहेको छ । सोही ठाउँमा लोकबहादुर फगामीले प्रतीक्षालय निर्माण गर्नुभएको छ ।

जनश्रमदानमा सडक मर्मत

मङ्गला गाउँपालिका–५ अर्मनका बासिन्दाले जनश्रमदानबाटै सडक मर्मत गरेका छन् । अर्मन पुलचोकदेखि गहते–नेटा–अर्मन हुँदै किमचौर सडकअन्तर्गत अर्मनखण्डमा एक दिनभर स्थानीयवासीले श्रमदान गरी सडक मर्मत गरेका हुन् ।
वर्षात्को कारण पहिरो र बाढीले सडकमा क्षति पु¥याउँदा अवरुद्ध बनेको सडकलाई करीब ३५ घरधुरीले श्रमदान गरी मर्मत गरेको वंैशालु वातावरण संरक्षण युवा क्लब अर्मनका सचिव गोविन्द रोकाले जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य रत्नबहादुर विकलगायतको पहलमा स्थानीयवासीले पैरेनीमा पहिराले अवरुद्ध बनाएको सडक र खोलाखर्कमा बाढीले बिगारेको सडकलाई समेत मर्मत गरेको सचिव रोकाले बताउनुभयो । श्रमदानमार्फत पानीको भलले सडकमा पारेको खाल्टाखुल्टीसमेत मर्मत गरिएको छ ।

श्रमदानमार्फत सडक मर्मत गरेपछि अर्मनखण्डमा अवरुद्ध भएको सडक खुले पनि नेटाखण्डमा पहिराले अवरुद्ध बनाएको सडक मर्मत नहुँदा सवारीसाधन आवतजावतमा भने समस्या कायम छ ।
रासस