आर्थिक अभावमा विद्यालय पुननिर्माण हुन नसक्दा पठनपाठनमा बाधा



विनोद सिंह विष्ट, बैतडी ।
आर्थिक अभावमा बैतडीको सुर्नया गाउँपालिका ४ स्थित राष्टिय मावि फाटीगाँडामा २०७२ सालमा हावाहुरीले छानो उडाएको भवन पुननिर्माण नहुँदा समस्या भएको छ ।

विद्यालयमा कक्षा १ देखि १२ र कृषि जेटीएको समेत पढाई हुने गरेको छ । तर विद्यालय भवनको अभावमा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक गंगादत्त भट्टले बताउनुभयो । विद्यालयको ४ कोठे भवनको छानो उडाएको तीन बर्ष बितेपनि पुननिर्माणका लागि कसैले सहयोग सहयोग गरेन् ।

उनले भने “ भवन पुनर्निर्माण गर्न विद्यालयसँग आन्तरिक स्रोत छैन, साविकको जिल्ला शिक्षा कार्यालयसँग पटक पटक आग्रह गरेपनि सहयोग पाइएन ।”

माध्यमिक तह निजीश्रोतमा चलाईरहेको विद्यालयमा आन्तरिक श्रोत नभएकाले विद्यालयले छाना मर्मत गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त कुँवरले बताए । यनले भने“ विद्यालयमा कक्षाकोठाको अभावमा बहुकक्षा शिक्षण गर्नु परीरहेको छ ।”

राष्ट्रिय मावि फाटिगाडामा विद्यालय भवन अभावमा शैक्षिक गुणस्तरमा समेत ह्रास आउन थालेको छ। बहुकक्षा शिक्षणले विद्यार्थीको कोर्सअनुसार पढाइ गर्न समस्या हुने गरेको प्रधानाध्यापक भट्टले बताए। उनले भने, ‘प्रत्येक कक्षाको कोर्स अलग अलग हुन्छ तर एउटै कक्षामा पढाउँदा कोर्स सक्नै समस्या हुन्छ।’

कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भवन अभावमा धेरै विषयको पढाइ एउटै कोठामा राखेर गर्नुपरेको शिक्षक प्रकाश भाटले बताए । उनले भने“ बर्षातको समयमा कक्षाकोठामा विद्यार्थीहरुलाई अप्ठ्यारो हुने गरेको छ ।”
बर्षातको समयमा कक्षाकोठा अभावमा धेरैजसो विद्यार्थी विद्यालयनै नआउने गरेको जनाएको छ ।

सुर्नया गाउँपालिकाभित्र अन्य केही विद्यालय पनि मर्मत गर्नुपर्ने देखिएकोले यो समस्या छिट्टै समाधान हुने गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टको भनाई रहेको छ । उनले भने“जैविक प्रकोप व्यवस्थापन का लागी रकम छुट्याएका छौ,त्यसवाटै विद्यालयलाई पुर्ननिर्माण गर्ने योजना छ ।”

वि स २०७२ साल जेठ ३ गते आएको हावाहुरीले विद्यालय भवनको छानो उडाएको हो । कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्