हेर्दाहेर्दै आगोले खरानी भयो ३ करोडको हल

0
Shares

हेटौंडा,(नेस)। उपत्यकाबाहिर हेटौंडामा निर्मित पहिलो सुविधासम्पन्न वातानुकूलित सिनेमा हल ओम्याक्स सिनेमालाई आगोले नष्ट गरेको छ।

करिब ३ करोड लागतमा निर्माण गरिएको ओम्याक्स हल बुधबार बिहान आगोले करिब अढाइ घन्टामा नष्ट गरिदिएको हो। हलभित्रको डिजाइनिङ र दर्शक सिट हालैमात्र पुनर्निर्माण गरिएको थियो। हेटौंडा–४ मा स्थापित उच्च प्रविधियुक्त सिनेमा हलमा बुधबार बिहान करिब साढे ९ बजे पर्दाको भागबाट शुरू भएको आगोले पूरै सामग्री जलेर नष्ट गरेको हो। करिब अढाइ घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। भित्ताका कंक्रिटमात्र बाँकी रहेको अवस्थामा आगलागीबाट कति क्षति भयो अहिले नै भन्न सकिने अवस्था नरहेको हल सञ्चालक नरेन्द्र महर्जनले बताए। यद्यपि, कम्तीमा पनि डेढ करोडको क्षति भएको अनुमान छ।

हल २०६९ जेठ १८ देखि नेपाल चलचित्र संघका तृतीय उपाध्यक्ष, चलचित्र निर्माता, वितरक, एफडी कम्पनी अध्यक्ष तथा चलचित्र विकास बोर्ड सदस्य महर्जनले सञ्चालन गर्दै आएका हुन्। आगलागीले हलभित्रका सबै उपकरणसहित भवन ध्वस्त भएको छ। विद्युत् लाइन मर्मतका क्रममा इलेक्ट्रिक सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र तरुण दल आबद्ध युवाको सहभागिता थियो। आगलागी नियन्त्रणमा लिन नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक र नगर अध्यक्ष सुनिल गिरीलगायत युवाले पनि जोखिम मोल्दै सेना र प्रहरीलाई सघाएका थिए। हलमा कार्यरत प्राविधिक र कर्मचारीले भने भागेर ज्यान जोगाएका थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिसा फुटाएर भित्रका सामान निकाल्ने प्रयास गरेको थियो।

हेटौंडामा एकमात्र दमकल रहेकाले आगो छिटो निभाएर क्षति कम गर्न सकिएन। आगो निभाउन बाराको अमलेखगन्जबाट नेपाल आयल निगमको दमकल र हेटौंडा उपमहानगरपालिकाको दमकल प्रयोग गरिएका थिए। चितवन र वीरगन्जबाट समेत दमकल मगाइए पनि आगो नियन्त्रणमा आइसकेकाले ती दमकललाई बाटोबाटै फर्काइएको थियो। ८ कठ्ठा क्षेत्रफलमा बनेको हलमा एकसाथ ४ सय ३१ जनाले फिल्म हेर्न सक्थे। हलमा कम्प्युटरबाट टिकट सिस्टम र इन्टरनेटबाट टिकट बुकिङ गर्नेलगायतका सुविधा थिए। हलले कम्तीमा १५ जनालाई रोजगारी दिएको थियो। उक्त हल निर्माणपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो।

हलमा आगलागीप्रति विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन्। नेपाल चलचित्र संघ अध्यक्ष प्रदीप उदयले विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरेका हुन्। उनले संघका प्रदर्शक सदस्य एवं नेपाल चलचित्र संघका तृतीय उपाध्यक्ष महर्जनद्वारा सञ्चालित हलमा भएको करोडौंको क्षतिप्रति दुःख व्यक्त गर्दै हल पूर्ववत्रूपमा पुनः शीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्। रिलिजको तयारीमा रहेको फिल्म ब्ल्याकको टोलीले पनि ओम्याक्स सिनेमा हलमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ। नायिका आँचल शर्माले हलमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिन्। सिनेमा हल आफ्नै घर भएको भन्दै उनले आफ्नै घर जल्दा साह्रै दुःख लागेको बताइन्। त्यसै गरी विभिन्न कलाकारले फेसबुकमार्पmत सो घटनाप्रति दुःख व्यक्त गरेका छन्।