मारमा शोधार्थी


पाँच वर्ष लगाएर धमरधुस घुँडा टेकी पीएचडी काम लाग्नेवाला देखिएन । यसो भन्दा कसो होला ? विद्वान् वर्गले भन्नु होला मूर्ख रहेछ । किन पीएचडी गरेको त । जे जे गरे पनि दाम नै हो कमाउने, नामले खान पुग्छ र भन्या ।

त्यही नाम र दाम दुवै कमाउँला भन्ने सोचले गरेको पीएचडी अब काम नलाग्ने भयो भन्दै केही शोधार्थीहरु यति बेला के गरौं के गरौंमा पुगेको धरहराले देखेको छ । भएछ के भने सबै जागिरसागिर छाडेर अब त्रिवि सेवा आयोग खुल्दै छ, त्यसमा भिडौंला, नाम निकालौंला अनि दाम नाम राखौंला भनेर कम्मर कसेका नेपाल संस्कृत विश्वविद्यालयका शोधार्थी यति बेला अलमलमा परेछन् ।

नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धान परिषद्का सदस्यहरुको पदावधि सकिएछ, यी सदस्यहरुको नियुक्ति राजनीतिक रहेछ । भाइवा र प्रिभाइवा सकाएका हुनेवाला डा. सापहरुको सबै काम रोकिएछ । अब कहिले नियुक्ति गर्लान् अनि प्रमाणपत्र बोकेर त्रिवि सेवा आयोग लडौंला भन्ने उनीहरुको सपना पूरा हुने छाँटकाँट देख्दैन धरहरा, किनकि विमानस्थलबाटै फर्काइएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई पनि रिस उठेको होला नि ।

जहिले अनुसन्धान परिषद्मा नियुक्ति हुन्छ, त्यति बेलैदेखि काम हुन्छ नत्र किन किचकिच गर्नु । उनलाई विमानस्थलमा रोकेर फर्काएको गुन सरकारले तिरेको हो कि । सरकार ! भीसीलाई रोकेजस्तै पीएचडीका शोधार्थीको भाइवा नरोकियोस्, धरहराको सुझाव छ ।